

बीमा क्षेत्र कै अहिलेसम्मको ठूलो घोटाला सार्वजनिक भएको छ । नेपाल पुनर्बीमा कम्पनीले आफुलाई दाबी भुक्तानीको लागि आएको एउटा फाइल शंकास्पद लागेर अनुसन्धान गर्नको लागि प्रहरीलाई आग्रह गरेपछि यसको खुलासा भएको हो ।
रिलायन्स लाइफ इन्स्योरेन्सले २ करोड ५० लाखको दाबी भुक्तानीको लागि पुनर्बिमा कम्पनीलाई फाइल पठाएकोमा पुनर्बिमाले शंकास्पद लागेर नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोलाई अनुसन्धानको लागि आग्रह गरेको थियो।
सीआईबिले यस समबन्धमा अनुसन्धान गरेर बीमा दाबी भुक्तानीको नाममा घोटाला गरेर ठगि गर्ने गिरोहलाई नै पक्राउ गरेको छ । प्रहरीले आज ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी सङ्गठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा रहेका छन् । सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । यो गिरोहले गरिब परिवारका एक युवकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ ।
नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखी बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको छ । वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ । हत्यापछि इन्सुरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको छ ।