

कालिकोटको तिलागुफा नगरपालिका चिल्खायाको ठिन्केमा शाखारहित बैंकिङ सेवा शुरु भएको छ । बैंकिङ सेवा लिन नगरपालिकाको केन्द्र गाल्जे जाँदा घण्टौं पैदल बाटो हिँड्नुपर्ने, सेवाग्राहीको चापका कारण लाइन बस्नुपर्ने, कहिलेकाहीं नेटमा खराबी हुँदा काम नहुनेजस्ता समस्याहरू खेप्दै आएका तिलागुफा नगरपालिका–९, १० र ११ वडाका नागरिकहरूलाई पायक पर्ने गरी चिल्खायाको ठिन्केमा बैंकिङ सेवा शुरु भएको हो ।
बाल पोषण भत्ता, वृद्धभत्ता, एकलभत्ताजस्ता सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लगायतका आर्थिक कारोबारहरूलाई सहज बनाउन नगरपालिकाले इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा विकट गाउँमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ।
नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले बैंकिङ सेवामा नगरवासीको सहज पहुँच पुर्याउन शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको बताउनुभयो ।जोखिमयुक्त पैदल बाटो,सेवाग्राहीको चाप लगायतका धेरै समस्या थियो। त्यसलाई कम गर्न नगरपालिकाका – १, २, ३ र ४ लाई पायक पर्ने गरी नाग्ममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा सेवा लिने, ५, ६, ७ र ८ लाई नगरपालिका केन्द्रमा रहेको बैंकको शाखाबाट सेवा लिने र ९, १० र ११ लाई ठिन्के बजारमा स्थापना गरिएको शाखारहित बैंकिङ बाट सेवा लिने गरी व्यवस्था गरिएको हो ।
दुर्गम गाउँका जेष्ठ नगरिकलाई वृद्धभत्ता, एकल महिला भत्ताजस्ता अति आवश्यक सेवा लिन निकै सहज हुँदै गएको नगर उपप्रमुख महेन्द्रबहादुर शाही बताउनुभयो ।