जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • बीमा क्षेत्रका नयाँ ऐनले सम्बोधन गर्छः अध्यक्ष सिलवाल

बीमा क्षेत्रका नयाँ ऐनले सम्बोधन गर्छः अध्यक्ष सिलवाल

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा देखिएका धेरैजसो समस्याहरु नयाँ बीमा ऐन, २०७९ बाट नै सम्बोधन हुने बताएका छन् । वीरगञ्जमा सम्पन्न बीमा सम्बन्धी समसामयिक विषय अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले समस्याहरु नयाँ बीमा ऐनले सम्बोधन गर्ने बताएका हुन् । ‘बीमा क्षेत्रमा देखिएका धेरैजसो समस्याहरु बीमा ऐन, २०७९ बाट नै सम्बोधन हुन्छ’ अध्यक्ष सिलवालले भने,‘ऐनले नेपाल बीमा प्राधिकरणलाई बढी स्वायत्तता प्रदान गरेकाले अब बीमा सम्बन्धी सबै विषयमा प्राधिकरण स्वायत्तताको अभ्यास गर्दै अघि बढ्ने छ ।’

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई प्रदेश तथा शाखा कार्यालयहरुलाई पर्याप्त अधिकार प्रत्यायोजन गर्न, बीमा दाबी भुक्तानी समेत प्रदेश तथा शाखा कार्यालयबाट नै गर्ने व्यवस्था गर्न, कार्यालयहरुलाई सुविधा सम्पन्न बनाउन र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्न निर्देशन दिएको बताए ।

अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरुबाट बीमकको अनुगमन, निरीक्षण तथा नियमनका साथै प्राधिकरणबाट हुने अधिकांश कार्य हुने भएकाले काम छिटोछरितो हुनुका साथै सेवाग्राहीको समय समेत बचत हुने बताए ।

कार्यक्रममा सहभागीहरुले निर्जीवन बीमा अन्तर्गत बालबालिकाको बीमामा समस्या देखिएकाले जीवन बीमालेख निर्देशिका, २०७८ संशोधन गर्नुपर्ने, बैंकहरुले मुद्दती खातामा लगानी गरेपछि मात्र बीमा व्यवसाय बीमकलाई दिने परिपाटीले गर्दा बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरुलाई पर्याप्त अधिकार प्रत्यायोजन नभएको, बीमा अभिकर्ताहरुका लागि तालिमको व्यवस्था नभएको, सरकारी निकायहरुले बीमा प्रयोजनका लागि कागजात दिन आनाकानी गर्ने गरेको, कृषि बीमाको सिफारिस लिँदा झण्झट व्यहोर्नु परेको लगायतका विचार व्यक्त गरेको प्राधिकरणले जनाएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक पुजन ढुङ्गेल (अधिकारी) तथा प्रदेश कार्यालय प्रमुख कुसुम शर्मा, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटीका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

2210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका