जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • क्रिप्टोकरेन्सी वैध कि अवैध ? नेपालमा ४ लाख २३ हजार क्रिप्टो कारोबारी

क्रिप्टोकरेन्सी वैध कि अवैध ? नेपालमा ४ लाख २३ हजार क्रिप्टो कारोबारी

बिटक्वाइन भर्चुअल (अभौतिक) मुद्रा हो । यसलाई क्रिप्टोकरेन्सी भनिन्छ । भारु, नेरु जस्ता भौतिक मुद्रा देशका सरकारहरूले निर्माण गर्दछन् । तर, बिटक्वाइन विश्वको जोकोही सर्वसाधारणले बनाउन सक्दछन् । यद्यपि, मनखुसी जति पनि सिर्जना गर्न भने सकिँदैन । यसमा नियम लागू हुन्छ ।

यो ओपनसोर्स सफ्टवेयरमा आधारित हुन्छ । बिटक्वाइन आफैंले बनाउन वा बजारबाट डलर, सुन जस्तै किन्न सकिन्छ । नेपालमा नेरु र भारुले मात्र सरसामान किन्न पाइन्छ । तर बिटक्वाइन भने विश्वका अधिकांश मुलुकमा चल्दछ । बिटक्वाइन मोबाइल वा कम्प्युटरमा मात्र राख्न मिल्दछ । आइक्लाउड (इन्टरनेट) बाट एप्लिकेसन डाउनलोड गरी मोबाइल वा कम्प्युटरमा इन्स्टल गरेर त्यसमा बिटक्वाइन राख्नुपर्छ ।

आफ्नो देशको चलनचल्तीको मुद्राले बिटक्वाइन किन्न पाइन्छ । मनी एक्सचेन्जरले विदेशी मुद्रा साटेजस्तो अन्य मुलुकमा बिटक्वाइन पनि किन्न र बेच्न पाइन्छ । बिट क्वाइन एटीएम मेसिनहरू पनि राखिएका हुन्छन् । त्यहाँ अन्य मुद्रा छिराएर त्यसबराबरको बिटक्वाइन आफ्नो वालेटमा प्राप्त गर्न र आफूसँग भएको बिटक्वाइन अनलाइनबाट तिरेर अन्य मुद्रा झिक्न पनि सकिन्छ । अनलाइनबाट सामान किनेजस्तै विश्वभरबाट बिटक्वाइन किन्न पाइन्छ ।

नेपालमा अवैध

नेपालमा भने विटक्वाइनको कारोबार अवैध मानिन्छ । नेपाल सरकारले नेपालभित्र नेपाली मुद्रा कारोबार मात्र वैध मानेको छ । नेपाली मुद्राबाहेक अन्य मुद्रा विदेशमा कमाएर ल्याउन पाइन्छ, तर नेपालमा त्यसलाई बैंक वा मनी चेन्जरमार्फत नेपाली मुद्रामा साटेर मात्र कारोबार गर्न पाइन्छ । विदेश जाँदा विदेशी मुद्रा चाहियो भने प्रयोजन खोलेर बैंकबाट किन्नुपर्छ । बिटक्वाइन भने यसैगरी पनि खरिद–बिक्री गर्न पाइँदैन ।

नेपालमा ४ लाख २३ हजार क्रिप्टो कारोबारी

नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फण्ड कारोबारीहरू एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् । नेपाली पैसा अवैधरूपमा विदेशिएपछि र डिजिटल नेटवर्किङमा ठगिने बढेपछि सरकारले नियन्त्रणका लागि प्रयास थालेको हो । सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ट्रिपल ए ले सार्वजनिक गरेको एक प्रतिवदेनअनुसार नेपालमा १.४५ प्रतिशत जनसंख्याको क्रिप्टोकरेन्सीमा लगानी छ ।

ट्रिपल ए ले विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूको विषयमा हालै नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । त्यसमा नेपाल पनि समेटिएको थियो । सो प्रतिवेदनअनुसार नेपालमा ४ लाख २३ हजार ८ सय ४० जना क्रिप्टो प्रयोगकर्ताहरू रहेको उल्लेख छ ।

विटक्वाइनको कारोबार गर्नेलाई कारबाही

नेपालमा अवैध मानिएपनि विभिन्न समयमा विटक्वाइनको कारोबार भइरहेको पाइएको छ । अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । त्यस्तै, बिटक्वाइनमार्फत पैसाको अवैध स्थानान्तरण (हुन्डी) पनि हुने गरेको फेला परेको छ ।

राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग ४० अर्ब रुपैयाँ बराबरको विटक्वाइन रहेको छ । कालोधनलाई बिटक्वाइनमा लगानी गर्ने, सम्पत्ति विदेश लैजान विटक्वाइनको प्रयोग गर्ने लगायतका कर्यहरु नेपालमा भइरहेको छ ।

जापानमा भुक्तानीको साधनका रूपमा मान्यता

जापानमा सरकारले बिटक्वाइनलाई भुक्तानीको साधनका रूपमा मान्यता दिएको छ । विश्वमा अरू कुनै देशका सरकारले भुक्तानी साधनका रूपमा मान्यता दिएका छैनन् । तर, विकसित देशमा बिटक्वाइन खरिद–बिक्री गर्ने उद्देश्यले खुलेका एक्सचेन्जलाई सरकारहरूले कुनै प्रतिबन्ध लगाएका छैनन् । एक्सचेन्जसँग आयकर र कारोबारीहरूसँग पुँजीगत लाभ कर लिएका छन् ।

चीनमा बिटक्वाइनमाथि प्रतिबन्ध

चीनले क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएको छ । वित्तिय जोखिम बढेको भन्दै चीन सरकारले केही समयअघि मात्रै क्रिप्टोकरेन्सीको एक्सचेन्ज गर्ने चिनियाँ कम्पनी केस ट्रेडिङलगायत सम्पूर्ण एक्सचेञ्जहरु तुरुन्तै बन्द गर्न निर्देशन दिएको थियो । कुनैपनि क्रिप्टोकरेन्सीहरु कारोवार गर्न अब चिनमा अवैध रहेको र यसको कारोवार गरेमा कारबाही हुने बताइएको छ । सूचना जारी भएपछि चीनको सवैभन्दा ठूलो साङ्घाईको विटिसी चाइनाले कारोवार बन्द गरेको छ । त्यस्तै अर्का ठूला विटक्वाइन कारोवार गर्ने कम्पनीहरु भायबिटिसी, योबबिटिसी र युनबीले पनि कारोवार बन्द गराएका छन् ।

‘क्रिप्टोकरेन्सी

‘क्रिप्टोकरेन्सी’ शब्द दुईवटा अंग्रेजी शब्द मिलेर बनेको छ – ‘क्रिप्टो’ अर्थात् गुप्त र ‘करेन्सी’ अर्थात् मुद्रा । सामान्य अर्थमा क्रिप्टोकरेन्सी गुप्त मुद्रा हो । यो इन्टरनेटमा चल्ने एक ‘भर्चुअल’ मुद्रा हो । यो एउटा त्यस्तो मुद्रा हो जुन कम्प्युटर एल्गोरिदममा निर्मित हुन्छ । यो एक स्वतन्त्र मुद्रा हो जसका कुनै मालिक छैनन् र एकाधिकारको नियन्त्रणमा पनि छैन । रुपैयाँ, डलर, युरो वा अन्य मुद्राजस्तै यो कुनै पनि राज्य, देश, संस्था वा सरकारद्वारा सञ्चालित हुँदैन । यो एक डिजिटल मुद्रा हो जसका लागि क्रिप्टोग्राफीको प्रयोग गरिन्छ । सामान्यतया, सामान किन्न वा सेवाका लागि यसको प्रयोग गर्न सकिन्छ ।
क्रिप्टोकरेन्सीको नाफा उच्च छ, अनलाइन किनबेचले गर्दा लेनदेन गर्न पनि सजिलो छ । क्रिप्टोकरेन्सीको कुनै नियामक निकाय छैन, त्यसैले नोसेट परिवर्तन वा मुद्रा अवमूल्यनजस्ता सर्तले यसलाई असर गर्दैन । जब २००९ मा बिटक्वइन सुरु गरिएको थियो त्यसवेला यसको मूल्य शून्य डलर थियो । २०१० मा पनि यसको मूल्य १ डलरसम्म पनि पुग्न सकेन तर आज बिटक्वइनको मूल्य ४४ हजार डलरभन्दा माथि पुगिसकेको छ ।

क्रिप्टोकरेन्सीका प्रकार

क्रिप्टोकरेन्सीमध्ये सबैभन्दा बढी कीर्तिमान राखेर बजार तताउने बिटक्वाइन लोकप्रिय छ । बिटक्वइनबाहेक विश्वमा सयौँ अन्य क्रिप्टोकरेन्सी छन् । रेड क्वइन, सिया क्वइन, सिस क्वइन, भ्वाइस क्वइन, इथिरियम, रिपल, लिटक्वइन र मोनेरो यसका उदाहरण हुन् ।

के हो बिटक्वइन ?

बिटक्वइन एक क्रिप्टोकरेन्सी हो, जसमा अन्य भर्चुअल मुद्रामा जस्तै गुण छन् । यो एक भर्चुअल करेन्सी हो जो आफ्नै हातले छुन सकिँदैन । यसको लेनदेन अनलाइन माध्यमबाट एक वालेटबाट अर्को वालेटमा मात्र हुन्छ । यसलाई अन्य करेन्सीमा बदल्न पनि सकिन्छ । बिटक्वाइन २००९ मा चलनचल्तीमा आएको थियो । यसको आविष्कार जापानका सातोसी नाकामोतोले गरेको मानिन्छ, यद्यपि उनको नाम र पहिचान काल्पनिक रहेको बताइन्छ । यसको अस्तित्व भर्चुअल दुनियाँ अर्थात् इन्टरनेटमा मात्र रहन्छ । तर, जसरी भौतिक मुद्राले सामान किन्न सकिन्छ, त्यसरी नै यो मुद्राले पनि सामान खरिद–बिक्री गर्न सकिन्छ । यसको लेनदेन ‘पियर टु पियर’ नेटवर्कमा आधारित छ । यसको अर्थ यो एक अकाउन्टबाट अर्को अकाउन्टमा सर्भरविनै पुग्छ । यसका लागि केवल इन्टरनेट कनेक्सनको आवश्यकता पर्दछ । यसको मूल्य विश्वभर एक समान हुन्छ ।

कसरी सुरु भयो बिटक्वइन ?

सन् २००९ तिर सातोसी नाकामोतोले यो सफ्टवेर लन्च गरेको बताइन्छ । यसलाई सुरुमा अनलाइन गेम खेल्न प्रयोग गरिन्थ्यो । केही समयपछि यसको प्रयोग अनलाइन काम गरेर पैसा कमाउने व्यक्तिहरूले गर्न थाले । उनीहरूले विस्तारै कागजी नोटको साटो यस्तो मुद्रा प्रयोग गर्न थाले र बिटक्वाइन सञ्चित गर्न थाले । त्यसपछि बजारमा यसको माग बढ्दै गयो र यसले विश्वव्यापी रूपमा मुद्राको रूप लियो । विश्वभरका अरू धेरै क्रिप्टोकरेन्सीमध्ये हाल सबैभन्दा प्रचलित बिटक्वाइन नै छ ।

बिटक्वइनबाहेक लोकप्रिय अन्य केही मुद्रा

बिटक्वइनबाहेक पनि अन्य केही राम्रा क्रिप्टोकरेन्सी बजारमा उपलब्ध छन् । तीमध्ये आजभोलि अधिक प्रयोग भइरहेका केहीको जानकारी यहाँ दिइन्छ –

१. रेड क्वइन : रेड क्वइन विशेष अवसरमा प्रयोग गर्न सकिने क्रिप्टो मुद्रामध्ये एक हो । यसको उपयोग मानिसलाई सल्लाह दिन गरिन्छ ।

२. सिया क्वइन : सिया क्वइन पनि वर्तमानमा धेरै प्रयोग गरिने मुद्रमा पर्छ । यो अहिले बढ्दो क्रममा छ । यो क्वइनको मूल्यमा हाल अधिक वृद्धि भइरहेको छ ।

३. यसवाइयस क्वइन (सिस्क्वइन) : यो एक क्रान्तिकारी क्रिप्टोकरेन्सी हो । यो शून्य लागतको वित्तीय लेनदेन र

अविश्वसनीय गतिका साथ अघि बढिरहेको छ । व्यवसाय, सम्पत्ति तथा डिजिटल प्रमाणपत्र डेटाको सुरक्षित व्यापार गर्न यसको प्रयोग भइरहेको छ । यसले पूर्वाधार निर्माणका साथ व्यवसाय प्रदान गर्दछ । सिस्क्वइनले ब्लकचेनमा काम गर्दछ जुन बिटक्वइनकै एक अंश हो ।

४. भ्वइस क्वइन : यो एक उदाउँदो संगीतकारका लागि डिजाइन गरिएको प्लेटफर्म हो जहाँ गायकले उनीहरूको संगीतको मूल्य स्वयं निर्धारण गर्न सक्छन् । उनीहरूले निःशुल्क रूपमा संगीतको नमुना ट्र्याक प्रदान गर्न सक्दछन् । यस प्लेटफर्मको मुख्य उद्देश्य स्वतन्त्र कलाकारलाई मुद्रीकरण गर्नु हो ।

५. मोनेरो : यो विशेष प्रकारको सुरक्षा प्रयोग गरिने क्रिप्टोकरेन्सी हो । यसलाई ‘रिंग सिग्नेचर’को नामले चिनिन्छ । यसको अधिक उपयोग डार्क वेभ र ब्लक मार्केटमा हुन्छ । यो कालो वेब र ब्लक बजारमा व्यापक प्रयोग गरिन्छ । यसको सहयोगले तस्करी गरिन्छ । यो करेन्सीको प्रयोगले सजिलै कालोबजारी गर्न सकिन्छ ।

क्रिप्टोकरेन्सीका फाइदा

कुनै पनि कुराका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । क्रिप्टोकरेन्सीका पनि फाइदा र बेफाइदा दुवै छन् । यसका बेफाइदा कम र फाइदा अधिक छन् ।
१. क्रिप्टोकरेन्सी एक डिजिटल करेन्सी हो जसमा फ्रड केसहरू धेरै कम हुन्छन् ।
२. अधिक पैसा भएको खण्डमा क्रिप्टोकरेन्सीमा लगानी गर्नु फाइदाजनक हुन्छ किनकि यसको मूल्य धेरै छिटो बढ्छ । यो लगानीको राम्रो प्लेटफर्म हो ।
३. अधिकांश क्रिप्टोकरेन्सीको वालेट उपलब्ध छन् जसका कारण अनलाइन सपिङ तथा पैसाको लेनदेन सरल भएको छ ।
४. क्रिप्टोकरेन्सी कुनै पनि एकाधिकारद्वारा नियन्त्रित छैन । त्यसैले यो करेन्सीको मूल्य घट्ने सम्भावना कम हुन्छ ।
५. त्यस्ता धेरै देश छन् जहाँ पुँजी नियन्त्रण हुँदैन । अर्थात् त्यहाँ कति पैसा देशमा भित्र्याउने र कति बाहिर पठाउने भन्नेबारे सीमा हुँदैन । त्यसकारण, क्रिप्टोकरेन्सी खरिद गरेर त्यसलाई सजिलैसँग देशबाहिर पठाउन सकिन्छ र यसलाई पैसामा रूपान्तरण गर्न सकिन्छ ।
६. क्रिप्टोकरेन्सीको सबैभन्दा बढी फाइदा त्यस्ता व्यक्तिलाई हुन्छ जसले आफ्नो धन लुकाउन चाहन्छन् । त्यसैले क्रिप्टोकरेन्सी पैसा लुकाउनसमेत उत्तम प्लेटफर्मका रूपमा देखापरेको छ ।

७. क्रिप्टोकरेन्सी मुद्रा पूर्ण रूपमा सुरक्षित छ । यसका लागि तपाईंले प्रमाणीकरण गर्नुपर्छ, किनभने यस्तो मुद्रा ब्लकचेनमा आधारित हुन्छ ।

क्रिप्टोकरेन्सीका बेफाइदा :

१. क्रिप्टोकरेन्सीको सबैभन्दा ठूलो बेफाइदा यसको भौतिक अस्तित्व नहुनु हो, कारण यसलाई प्रिन्ट गर्न सकिँदैन । न यो करेन्सीको नोट छाप्न सकिन्छ, न त कुनै बैंक खाता वा पासबुक जारी गर्न सकिन्छ ।
२. क्रिप्टोकरेन्सीलाई नियन्त्रण गर्ने कुनै देश, सरकार वा संस्था छैन, जसका कारण यसको मूल्यमा ठूलो उतार–चढाव भइरहन्छ । यसको मूल्यमा कहिले उछाल आउँछ त कहिले ठूलो गिरावट आउँछ, जसका कारण यसमा लगानी जोखिमपूर्ण छ ।
३. हात–हतियार खरिद, ड्रग्स सप्लाई, कालोबजारीजस्ता गलत कार्यमा यसको उपयोग सजिलै गर्न सकिन्छ किनभने यसको प्रयोग दुई व्यक्तिका बीचमा मात्र हुन्छ । त्यसैले यो खतरनाक पनि हुन सक्छ ।
४. यसमा ह्याक हुन सक्ने जोखिम पनि रहन्छ तर ब्लकचेन ह्याक गर्न सजिलो भने छैन । यसमा पूर्ण सुरक्षा व्यवस्था हुन्छ, यद्यपि यो मुद्राको कुनै मालिक नभएका कारण ह्याकिङ हुनबाट पूर्णतः जोगाउन पनि कठिन छ ।
५. ट्रान्जेक्सनमा केही गल्ती भएमा सच्याउन नमिल्नु यसको अर्को बेफाइदा हो । भूलवश बढी भुक्तानी गरिएमा प्रयोगकर्ताले त्यसलाई फिर्ता गराउन सक्दैन, जसले ठूलो घाटा निम्त्याउन सक्छ ।

क्रिप्टोकरेन्सी वैध कि अवैध ?

कुनै नियामक निकायको नियन्त्रणमा नहुने क्रिप्टोकरेन्सी कानुनी रूपमा वैध छ वा अवैध ? यो धेरैको दिमागमा खेलिरहने प्रश्न हो । यसको उत्तर सापेक्षिक छ । यसको वैधताको निक्र्योल तपाईं कुन देशमा बसेर यसको प्रयोग गर्दै हुनुहुन्छ भन्नेले गर्छ ।

यसको वैधता प्रयोगस्थलमा निर्भर हुनुको कारण विश्वका सबै देशले यसलाई मान्यता नदिनु हो । केही देशमा अझै पनि क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिइएको छैन, जसमा नेपाल पनि एक हो । त्यस्तै, केही देशले यसलाई ‘ग्रे जोन’मा राखेका छन्, अर्थात् त्यहाँ यसलाई न औपचारिक रूपमा प्रतिबन्धित गरिएको छ, न त यसको प्रयोगलाई मान्यता नै दिइएको छ ।

2090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?