जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित

आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित

आगामी वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेस गरेको आगामी वर्षको बजेट बुधबार बहुमतले पारित भएको हो । विनियोजन विधेयक पारित गर्न इतिहासमै पहिलोपटक मतदान भएको संसद सचिवालयले जनाएको छ ।

बजेटको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ । बजेटको पक्षमा सत्तापक्षका सबै सांसदले मतदान गरेका छन् भने विपक्षमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले मतदान गरेका छन् ।

यसअघि सत्तापक्षका सांसद मूलत: नेकपा एकीकृत समाजवादीका सांसदले नै बिनासंशोधन बजेट पास गर्न नदिने बताउँदै आएका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज बिहान भएको छलफलपछि बजेटका पक्षमा मत हाल्न उनीहरु तयार भएका थिए ।

त्यसलगत्तै सत्तापक्षीय दलहरुले बजेटका पक्षमा मत हाल्न ह्विप नै जारी गरेका थिए । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए ।

बजेटमा करका दर बढाएको, सांसद विकास कोष ब्युँताएको, प्रधानमन्त्री दाहाल, शेरबहादुर देउवालगायत पहुँचवालाहरुका जिल्लामा ठूलो मात्रामा बजेट विनियोजन गरिएको जस्ता विषयमा सत्तापक्षकै सांसदले चर्को असन्तुष्टि जनाएका थिए ।

जेठ १५ गते अर्थमन्त्री महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएका थिए ।

स्रोत व्यवस्थापन मुस्किल भएपछि सरकारले चालू आवमा भन्दा आकार घटाएर बजेट ल्याएको छ । आगामी वर्ष तलबभत्ता, अनुदानलगायतमा हुने चालू खर्चका लागि ११ खर्ब ४१ अर्ब ७८ करोड बजेट छुट्याइएको छ, यो कुल बजेटको ६५.२ प्रतिशत हो ।

त्यस्तै पुँजीगत खर्चका लागि ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएको छ, जुन कुल बजेटको १७.२५ प्रतिशत हो । वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७ अर्ब ४५ करोड छुट्याइएको छ ।

आगामी आर्थिक वर्षमा १२ खर्ब ४८ अर्ब ६७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ भने वैदेशिक सहायताबाट ४९ अर्ब ९४ करोड प्राप्त गर्ने लक्ष्य राखिएको छ । त्यसैगरी, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब उठाउने लक्ष्य राखिएको छ ।

780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका