
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का दुई उच्च पदाधिकारीले एकैसाथ पदबाट राजीनामा दिएका छन्। नेप्सेका अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका हुन्। उनीहरू दुवै जनाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा बुझाएका हुन्। अर्थ मन्त्रालय स्रोतका अनुसार दुवैको राजीनामा स्वीकृत भइसकेको छ।
कार्यकाल बाँकी छँदै बाहिरिए बस्याल
गत भदौ १९ गते नेप्सेको अध्यक्षमा नियुक्त भएका हेमन्त बस्यालले कार्यकाल बाँकी छँदै पद छाडेका हुन्। उनले राजीनामामा ‘विशेष कारण’ उल्लेख गरेको बताइएको छ। पुँजी बजारको सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएका बस्यालको बहिर्गमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सीईओ चापागाईंको पनि राजीनामा
अध्यक्षसँगै नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पनि पदबाट राजीनामा दिएका छन्। चापागाईंलाई २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सीईओ पदमा नियुक्त गरेको थियो। नियुक्त भएको छोटो समयमै उनले पदबाट राजीनामा दिएका हुन्।
नेप्सेका दुवै शीर्ष नेतृत्वले एकैपटक राजीनामा दिएपछि अब पुँजी बजारको नियामक निकायमा नयाँ नेतृत्व चयनको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ। यसबारे अर्थ मन्त्रालयले थप प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार















































