
बैंकिङ कसुरको आरोपमा समातिएका १० जनालाई ७ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले प्रहरीलाई अनुमति दिएको छ। अदालतले तत्कालीन सेन्चुरी बैंकका सीइओदेखि हाल प्रभु बैंकमा कार्यरत केही कर्मचारीसम्मलाई हिरासतमा राख्न मंगलबार अनुमति दिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले बैंकिङ कसुरको आरोपमा पक्राउ परेकाहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गर्नेछ।
सीआइबीले ऋण प्रवाहमा हिनामिना गरेको आरोपमा सोमबार र मंगलबार काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका पूर्वसीइओ तुलसीराम गौतम र सीइओ मनोज न्यौपाने तथा कर्मचारीहरु सबिन श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सुनील बस्नेत, सुभाष बहादुर श्रेष्ठ, दीलिप बराल, दीपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ छन्।
सेञ्चुरी बैंक प्रभु बैंकसँग गाभिएकाले न्यौपाने हाल प्रभुमा डेपुटी सीइओका रुपमा कार्यरत छन्। मर्जपछि प्रभुमा आएका सबिन, अनुपमा, सुनील, सन्ध्या, सुभाष, दीलिप, दीपेश, राजेश र रमणमध्ये मनोज, दीलिप, दीपेश, राजेश र रमण बहालवाला कर्मचारी हुन्। बाँकीले भने अवकाश लिइसकेका छन्। पक्राउको सुचीमा रहेकी एक महिलालाई भने उपचारको कारण प्रहरीले पक्राउ गर्नबाट छोडेको छ।
तत्कालीन सेन्चुरी कमर्सियल बैंकका कर्मचारीको मिलेमतोमा १ अर्ब रुपैयाँको ओभर भ्यालुएसनमा ऋण प्रवाह भएको देखिएको छ। सीआइबीको अनुसन्धानमा प्रवाह भएको ऋणमध्ये ९७ करोड ४१ लाख रुपैयाँ ओभरभ्यालुएसन भएको देखिएको हो।
तत्कालीन सेञ्चुरी बैंकले देउराली सहकारीका सञ्चालक रवीन्द्र चौलागाईंका विभिन्न कम्पनीलाई विभिन्न शीर्षकमा २ अर्ब ११ करोड ६५ लाख रुपैयाँ ऋण दिएको थियो।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































