जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सेबोन अध्यक्ष बन्न नेप्सेका सीईओदेखि सेयर विश्लेषकसम्म दौडमा

सेबोन अध्यक्ष बन्न नेप्सेका सीईओदेखि सेयर विश्लेषकसम्म दौडमा

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष बन्न १९ जनाले आवेदन दिएका छन्। सेयर तथा कमोडिटी बजारको नियामक निकाय सेबोनको अध्यक्ष बन्न नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देखि सेयर विश्लेषकसम्मले आवेदन दिएका छन्। अर्थ मन्त्रालय स्रोतका अनुसार बुधबार अपराह्‍न पौने पाँच बजेसम्म १९ जनाको आवेदन परेको छ। आवेदन दिने समय बुधबार पाँच बजे सकिएको छ।

नयाँ स्टक एक्सचेन्ज र कमोडिटीको लाइसेन्स दिने भएकाले सेबोनको अध्यक्षमा व्यावसायिक घरानाको समेत विशेष चासो छ। नयाँ स्टक एक्सचेन्ज लिनका लागि व्यावसायिक घरानाले आफू अनुकूलको व्यक्ति नियुक्त गर्न खोजेका छन्। केहीले व्यावसायिक घरानाको आशीर्वाद पाएर आवेदन दिएका छन्। केहीले भने आशीर्वाद पाउने आशामा आवेदन दिएका हुन्।

मन्त्रालय स्रोतका अनुसार अध्यक्षका लागि बीमा समितिका पूर्वकार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेन्जका सीईओ कृष्णबहादुर कार्की र नेप्सेका पूर्वसीईओ सीताराम थपलियाले आवेदन दिएका छन्।

यस्तै, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट, नेपाल बैंकका पूर्वकार्यकारी निर्देशक कृष्ण अधिकारी, सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र कृष्णप्रसाद पोखरेल, पूर्वकार्यकारी निर्देशक निरज गिरी, नेप्सेका प्रवीण पन्दाक, सेयर विश्लेषक मुक्ति अर्याल, केशवप्रसाद श्रेष्ठ र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका पूर्वकार्यकारी निर्देशक रघुराज काफ्ले, नेपाल इन्फ्रास्टक्चर बैंकका पूर्व सीईओ रामकृष्ण खतिवडाले पनि आवेदन दिएका छन्।

आवेदकको नामावली

आवेदन दिएकामध्ये पाँच जनाको नाम सर्ट लिस्ट हुनेछ। पाँच जनालाई कार्ययोजना प्रस्तुति गर्न लगाएर समितिले तीन जनाको नाम मन्त्रिपरिषद्‍समक्ष सिफारिस गर्नेछ।

सेबोनको अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्ले माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थ सचिव कृष्णहरि पुष्कर र उदय निरौला सदस्य छन्। मन्त्रालय स्रोतका अनुसार, अर्थ सचिव पुष्कर केही दिनका लागि देशबाहिर रहने भएकाले सर्टलिस्टिङबारे चाँडै निर्णय गर्ने तयारी छ।

नयाँ स्टकमा व्यावसायिक घरानाको आँखा

नयाँ स्टक एक्सचेन्जका लागि ठूला व्यावसायिक घरानाको लडाईं चलिरहेको छ। झण्डै १५ वर्षदेखि निजी क्षेत्रलाई नयाँ स्टक सञ्चालन गर्न दिने भनिए पनि कार्यान्वयनमा आउन सकेको छैन।

पछिल्लो दुई वर्ष नयाँ स्टकका लागि व्यावसायिक घरानाबीच ‘कर्पोरेट वार’ नै चल्यो। नयाँ स्टक एक्सचेन्जका लागि शंकर समूह र इन्फिनिटी समूहले केही व्यावसायिक घराना समेत जम्मा पारेर लाइसेन्स लिन खोजेको थियो। लाइसेन्सका लागि नै यो समूहले रमेशकुमार हमाललाई सेबोनको अध्यक्ष बनाएको थियो।

हमालले अन्तिम समयसम्म लाइसेन्स दिन खोजे। तर, अर्को व्यावसायिक समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रयोग गरेर लाइसेन्स रोक्यो। हमालको कार्यकाल गत पुस २० गते सकिएको थियो।

अहिले पनि यही दुई समूह सेबोन अध्यक्षमा आफू निकट व्यक्ति ल्याउन लागिपरेका छन्।

560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका