जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • बैंकमा एक महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य

बैंकमा एक महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य

बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने प्रस्ताव गरिएको छ । बिहीबार अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ (बाफिया) संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो ।

हाल ऐनको दफा १७ अनुसार योग्यता भएको व्यक्ति मध्येबाट कम्तीमा एक जना स्वतन्त्र सञ्चालक नियुक्त गरी त्यसको जानकारी त्यस्तो नियुक्तिपछि बस्ने पहिलो साधारणसभामा दिनुपर्ने व्यवस्था थियो । त्यसलाई संशोधन गर्दै कम्तीमा एक महिला सहित दुई जना स्वतन्त्र सञ्चालक अनिवार्य नियुक्त गर्नुपर्ने गरी काफियामा संशोधन प्रस्ताव गरिएको छ ।

बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा ०.१ प्रतिशतभन्दा बढी सेयर लिएको सेयरधनी तथा निजको परिवार स्वतन्त्र सञ्चालक हुन नपाउने व्यवस्था यथावत् छ ।

यस्तै महिला सेयरधनी रहेको बैंकमा सञ्चालक नियुक्त गर्दा एक महिला सञ्चालक हुने गरी नियुक्त गर्नुपर्ने प्रस्ताव संशोधन विधेयकमा छ ।

यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पनि पूर्वाधार बैंकमा सञ्चालक हुन पाउने व्यवस्था हटाउने प्रस्ताव बाफिया संशोधनमा छ ।

यस्तै सञ्चालक आफ्नो कार्यकाल पूरा भए पनि अर्को एक अवधिका लागि मात्रै पुनः नियुक्त हुने व्यवस्था बाफियामा गर्न प्रस्ताव गरिएको छ ।

२०७३ मा बाफिया आउँदा ऐन प्रारम्भिक भए पनि लगातार दुई कार्यकाल मात्रै भनेकोमा अब भने कार्यकाल पूरा भएपछि पुनः एकपटक मात्रै सञ्चालक हुन पाउने व्यवस्था गर्न लागिएको हो । अहिले मर्जरमा जाने बैंक सञ्चालक र प्रमुख कार्यकारी अधिकृत ( सीईओ) लाई दुई कार्याकालको व्यवस्थामा छुट दिइएको छ ।

सञ्चालकको योग्यतामा कडाइ

बैंक तथा वित्तीय संस्था सञ्चालकको योग्यतामा कडाइ हुने भएको छ । अब बैंक सञ्चालक हुन जतिसुकै अनुभव भए पनि स्नातक उपाधि हासिल गरेको हुनपर्ने प्रस्ताव बाफिया संशोधनमा गरिएको छ ।

हाल विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने व्यवस्था थियो ।

तर, अब उक्त अनुभव भएकाले पनि कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनपर्ने प्रस्ताव भएको छ । यस्तै स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति बैंकमा कुनै अनुभव नभए पनि सञचालक हुने पाउने प्रस्ताव गरिएको छ ।

तर, बैंक तथा वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक हुन भने ऐनको दफा १७ अनुसार योग्यता अनिवार्य हुने प्रस्ताव गरिएको छ ।

यस्तै बैंक सञ्चालक हुन ७० वर्षको उमेर हद राख्ने गरी बाफिया संशोधन विधेयक संसदमा दर्ता भएको छ । हाल न्यूनतम २५ वर्ष उमेर व्यवस्था रहे पनि संशोधनमा भने न्यूनतम २५ वर्ष र अधिकतम ७० वर्षको उमेर राख्न प्रस्ताव गरिएको हो ।

1620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?