जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • ब्याड बैंक खोल्ने राष्ट्र बैंकको घोषणा

ब्याड बैंक खोल्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले एसेट म्यानेजमेन्ट कम्पनी स्थापनाको उद्घोष गरेको छ । शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एसेट म्यानेजमेन्ट कम्पनी स्थापनाको प्रक्रिया थालिने बताएका हुन् ।

एसेट म्यानेजमेन्ट कम्पनीलाई बोलीचालीको भाषमा ब्याड बैंक भनिन्छ । यस्तो कम्पनीले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति खरिद गरेर सल्टाउने काम गर्दछ । पछिल्लो समय बैंकहरुको खराब कर्जा र गैह्र बैंकिङ सम्पत्ति उल्लेख्य मात्रामा वृद्धि भएपछि त्यसको व्यवस्थापनका लागि केन्द्रीय बैंले ब्याड खोल्ने भएको हो ।

ब्याड बैंक बैंकहरुको खराब कर्जाको व्यवस्थापन गर्नका लागि बनाइएको विशेष प्रकृतिको वित्तीय संस्था हो ।

नेपालको पहिलो मौद्रिक नीतिमा सम्पत्ति व्यवस्थापन कम्पनी (ब्याड बैंक) खोल्ने उल्लेख गरेको थियो ।

त्यसपछिको बजेटमा पनि उल्लेख भएअनुसार ब्याड बैंक स्थापनाका लागि अध्यादेश मस्यौदा तयार भएको थियो । प्रस्तावित ब्याड बैंकमा तत्कालीन श्री ५ को सरकार, नेपाल राष्ट्र बैंक र वाणिज्य बैंक क्रमशः ४० प्रतिशत, १० प्रतिशत र ६० प्रतिशत लगानी गर्न सहमत भइसकेका पनि थिए । सरकारले १५ करोड रुपैयाँबराबरको बजेट इयरमार्क पनि गरेको थियो ।

सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने विषयमा राष्ट्र बैंकले नै तत्कालीन कार्यकारी निर्देशक राजनसिंह भण्डारीको संयोजकत्वमा एक कार्यदलसमेत बनाएको थियो । भण्डारी संयोजक रहेको सो कार्यदलमा राष्ट्र बैंककै भीष्म ढुंगाना तथा बैंकरद्वय परशुराम कुँवर र मनोज गोयल सदस्य थिए । सो कार्यदलको सुझावलाई बैंकलाई कर्जा उठाउन जे जति अधिकार छ त्यो भन्दा बढी एएमसीलाई के विशेष अधिकार दिन सकिन्छ र ? भनेर थन्क्याइएको थियो ।

त्यसयताको २३ वर्षसम्म पनि ब्याड बैंक स्थापना हुन सकेको छैन ।

के हो ‘ब्याड बैंक’, कसरी गर्छ काम ?

झट्ट ‘ब्याड बैंक’ सुन्दाखेरी यो खराब बैंक हो कि जस्तो भान हुनसक्छ । तर, नाम ब्याड भए पनि ब्याड बैंक वास्तवमा ‘गुड बैंक’ हो ।

ब्याड बैंक र अरु बैंकबीच फरक के त ?

अरु बैंकले झैं ब्याड बैंकले निक्षेप स्वीकार गर्दैन, चेक जारी गर्दैन, केन्द्रीय बैंकमा नगद मौज्दात वा वैधानिक तरलता अनुपात कायम गर्नु पर्दैन ।

त्यसो हो भने ब्याड बैंकले त्यस्तो के काम गर्छ जसकारण यसलाई ‘ब्याड’ नाम दिइन्छ ?

सुरुमा ब्याड बैंकको परिभाषा बुझौं । ब्याड बैंक एसेट रिकन्स्ट्रक्सन कम्पनी वा एसेट म्यानेजमेन्ट कम्पनी (नेपालीमा सम्पत्ति व्यवस्थापन कम्पनी) हो, जसले वाणिज्य बैंकको खराब कर्जा खरिद गर्छ, व्यवस्थापन गर्छ, र बेचेर लगानी असुली गर्छ ।

कुनै ऋणीले बैंकको पैसा तिरेको छैन भने सो ऋणलाई बैंकले ब्याड बैंकलाई बेचिदिन सक्छ । त्यसवापत ब्याड बैंकले ऋणको पूरै रकम भने दिँदैन । झमेला बेहोर्नु वा उठ्दै नउठ्नुभन्दा केही रकम लिएर ऋण बेच्नु अरु बैंकलाई लाभदायक हुन्छ ।

ब्याड बैंक विशेष प्रकारको वित्तीय संस्था हो जसले बैंकको खराब कर्जा परस्परमा निर्धारित मूल्य तिरेर आफ्नो स्वामित्वमा लिन्छ । त्यसपछि सो कर्जा रिकभर गर्न आफ्नो सामथ्र्य लगाउँछ । रिकभर नभए कर्जावापत् राखेको धितो बेचेर कर्जा असुल गर्छ।

अर्थात् ब्याड बैंकले वाणिज्य बैंकहरुको ‘ब्याड’ कुरालाई आफू मातहतमा ल्याउँछ र सफा बनाउन सहयोग गर्छ।

मानौं, नेपाल बैंकले सन्तोष नाम गरेको व्यत्तिलाई १ करोड बराबरको कर्जा दिएको छ । सन्तोषले कर्जाका लागि नयाँ वानेश्वरको घर धितो राखेका छन् । सन्तोषले १ वर्षअघि कर्जा लिएकामा पछिल्लो ६ महिनादेखि किस्ता तिरेका छैनन् । अर्थात्, नेपाल बैंकका लागि सन्तोषले लिएको ऋण निष्क्रिय सम्पत्ति बनिसकेको छ ।

अब नेपाल बैंकले सन्तोषको घर लिलाम गरेर आफ्नो रकम उठाउनुपर्ने हुन्छ । नेपाल बैंकका लागि यस्तो सयौं निष्क्रिय कर्जा हुन्छन् । सबैको झमेला बेहोर्नुभन्दा बैंकले यस्ता कर्जा ब्याड बैंकलाई बेचिदिनु उपयुक्त मान्यो । नेपाल बैंक र ब्याड बैंकले पारस्पारिक सम्झौता गर्छन् । १ करोडको कर्जा ८० लाखमा किनबेच हुन्छ । सन्तोषको ऋणमा अब नेपाल बैंकको स्वामित्व रहेन । बाँकी जे हुन्छ ब्याड बैंकको मर्जी । ब्याड बैंकले अब धितो लिलाम गर्छ, अदालती प्रक्रिया अपनाउँछ । धितो १ करोडमा बिक्री भयो भने २० लाख आफू राख्छ । बढीमा बिक्री भए बढी भएको रकम ऋणीलाई फिर्ता दिन्छ ।

250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका