जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • ब्याज आम्दानीमा गिरावट र प्रोभिजन वृद्धिको प्रभाव सिटिजन्सको नाफामा, लाभांश क्षमता ४.३४%

ब्याज आम्दानीमा गिरावट र प्रोभिजन वृद्धिको प्रभाव सिटिजन्सको नाफामा, लाभांश क्षमता ४.३४%

 खुद ब्याज आम्दानीमा गिरावट र नोक्सानी व्यवस्थामा भारी वृद्धिले सिटिजन्स बैंकको वित्तीय विवरण कमजोर देखिएको छ । गत आर्थिक वर्ष अघिल्लो आवभन्दा १४ करोड रुपैयाँ कम खुद ब्याज आम्दानी र ५५ करोड रुपैयाँ नोक्सानी व्यवस्था थप गर्दा बैंकको खुद नाफा २८ प्रतिशत अर्थात् ५२ करोड रुपैयाँ कम भएको हो ।

बैंकले आव २०७९/८० मा १ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा गरेकामा आव २०८०/८१ मा १ अर्ब ३४ करोड २५ करोडमात्र खुद नाफा गर्न सकेको हो ।

बैंक आव २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक हो । शनिबार बिहान प्रकाशित विवरणअनुसार सिटिजन्सको वितरणयोग्य नाफा ४.३४ प्रतिशतमात्र छ ।

बैंकको प्रतिफल खस्कनुको मुख्यतः दुई कारण देखिएका छन् ।

पहिलो, खुद ब्याज आम्दानीमा सामान्य गिरावट । दोस्रो, निष्क्रिय कर्जाको दर बढ्दा सुरक्षित गर्नुपर्ने नोक्सानी व्यवस्था वा प्रोभिजन ।

बैंकले अघिल्लो आर्थिक वर्षभन्दा १ अर्ब रुपैयाँ कम ब्याज आम्दानी गरेको छ । आव २०७९/८० मा २० अर्ब ६६ करोड ब्याज आम्दानी गरी १४ अर्ब ८३ करोड ब्याज खर्च गरेको बैंकले गत आव १९ अर्ब ६८ करोड आम्दानी गरी १३ अर्ब ९९ करोड खर्च गरेको छ ।

फलस्वरुप बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८३ करोडबाट ५ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ ।

तर, खुद फि तथा कमिसन आम्दानी बढेकाले बैंकको खुद ब्याज, फि तथा कमिसन आम्दानी ११ करोडले बढेर ६ अर्ब ८१ करोड गरेको छ ।

यस्तै ट्रेडिङ आम्दानी पनि बढेको छ ।

तर, निष्क्रिय कर्जाको दर बढ्दा सिटिजन्सले १ अर्ब ७७ करोड रुपैयाँ प्रोभिजन गर्नुपरेको छ । यो नोक्सानी व्यवस्था अघिल्लो आवमा गरेकोभन्दा ५५ अर्ब रुपैयाँ बढी हो ।

यसरी बैंकको सञ्चालन आम्दानी ५ अर्ब ६९ करोडबाट घटेर ५ अर्ब २५ करोडमा खुम्चिएको छ ।

आम्दानी खुम्चिए पनि सञ्चालन खर्च खासै बढेको छैन ।

गत आव बैंकले ७३ करोड रुपैयाँ आयकर तिरेको छ जुन अघिल्लो आवभन्दा ३ करोड कम हो ।

यसरी बैंकको खुद नाफा १ अर्ब ८६ करोड ३८ करोडबाट घटेर १ अर्ब ३४ करोड २५ करोड कायम भएको छ ।

खुद नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी पनि १३.१२ रुपैयाँबाट ९.४५ रुपैयाँ कायम भएको छ ।

बैंकको निष्क्रिय कर्जा दर ३.३९ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ भने कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जाको अनुपात ९८ बाट १०२ प्रतिशत कायम भएको छ ।

१ अर्ब ३४ करोड खुद मुनाफा गरेको सिटिजन्सको हालसम्मको वितरणयोग्य नाफा ६१ करोड ६१ लाख रुपैयाँ देखिएको छ । जसका आधारमा बैंकको लाभांश क्षमता ४.३४ प्रतिशत हो ।

नेपाल राष्ट्र बैंकले साउन मसान्तसम्म रिकभर भएको ब्याजलाई पनि गत आवकै मान्न पाउने व्यवस्था गरेका कारण वितरणयोग्य नाफा अझ बढ्नेछ ।

बैंकले प्रकाशन गरेको परिस्कृत वित्तीय विवरण हो । जसका आधारमा बैंकको प्रतिसेयर नेटवर्थ १५१.८१ रुपैयाँ छ ।

बैंकले एक वर्षको अवधिमा निक्षेप १ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँबाट बढाएर १ खर्ब ८९ अर्ब २२ करोड रुपैयाँ पुर्‍याएको छ । यस अवधिमा बैंकले प्रवाह गरेको कर्जा १ खर्ब ३९ अर्ब ८३ करोड रुपैयाँबाट विस्तार भएर १ खर्ब ५१ अर्ब ३३ करोड कायम भएको छ ।

१ वर्षको अवधिमा बैंकको कर्जा वृद्धिदर ९.७ प्रतिशत तथा निक्षेप वृद्धिदर १२.१ प्रतिशत रहेको छ ।

बैंकको चुक्तापुँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ । गत वर्ष बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका