जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • नाडा अटो शो : इभीदेखि इन्धन गाडी किन्न सस्तोमा ऋण, कुन बैंकको ब्याजदर कति?

नाडा अटो शो : इभीदेखि इन्धन गाडी किन्न सस्तोमा ऋण, कुन बैंकको ब्याजदर कति?

सवारी मेला हेर्न गएर गाडी किन्न रहर गर्नेसँग पर्याप्त पैसा छैन भने बैंकहरु ऋण दिन तयार भएर बसेका छन्। मंगलबार सुरु भएको नाडा अटो शोमा सवारीसाधन बिक्रेताका साथै बैंकहरुले पनि स्टल राखेका छन्। बैंकहरुले गाडी किन्न चाहने ग्राहकलाई लक्षित गरी स्टल राखेका हुन्। नाडा अटो शोमा नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, नबिल, माछापुच्छ्रे, सानिमा बैंक र कृषि विकास बैंकले स्टल राखेका छन्। यस्तै महालक्ष्मी विकास बैंकले पनि मेलामा सहभागिता जनाएको छ।

कृषि विकास बैंक बाहेकले अटो कर्जाको स्किम ल्याएका छन्। स्किम बैंकअनुसार फरक छ। गाडीका स्टलमा पुगेर फीचर र मूल्यको जानकारी लिएपछि किन्न मन लाग्दा फाइनान्सिङको सुविधा पाउन ग्राहकले स्टलमा सम्पर्क राख्न सक्छन्।

गाडी किन्न कुन बैंकको ब्याजदर कति ?

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमईले विद्युतीय सवारीसाधन (इभी) खरिदका लागि ७‍.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने घोषणा गरेको छ। बैंकले ५ वर्षभित्र चुक्ता गर्नुपर्ने गरी स्थिर ब्याजदरको स्किम ल्याएको हो।

अन्य सवारीसाधनको हकमा भने ब्याजदर ८.४९ प्रतिशत छ। यो ब्याजदर पनि स्थिर खालको भएको बैंकले जनाएको छ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले इभी किन्न चाहने ग्राहकका लागि ८.९९ प्रतिशत ब्याजदरको अटो लोन स्किम ल्याएको छ। ७ वर्ष अवधिका लागि ल्याइएको यो योजनाअन्तर्गत दिइने कर्जामा ब्याजदर फेरबदल हुँदैन। इभीमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा रहेको बैंकले जनाएको छ।

डिजल/पेट्रोल इन्जिन सवारीसाधनका लागि भने बैंकले नाडा अटो शोमा स्किम ल्याएको छैन।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले ६ र ८ वर्ष अवधिको कर्जा स्किम ल्याएको छ। इभीको हकमा ६ वर्ष र इन्धन सवारीसाधनको हकमा ८ वर्ष अवधिको स्किम ल्याइएको हो।

दुवै अवधिको स्किममा कर्जाको ब्याजदर बेस रेटमा १ प्रतिशत प्रिमियम लाग्ने बैंकले जनाएको छ।

व्यक्तिगत र व्यावसायिक प्रयोजनका इन्धन सवारीसाधनमा ५० प्रतिशतसम्म र इभी खरिदमा ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने बैंकले जनाएको छ। बैंकले कर्जामा ०.२५ प्रतिशत सेवा शुल्क लाग्ने स्पष्ट पारेको छ।

नबिल बैंक

नबिल बैंकले इभी र इन्धन सवारीसाधनका लागि एउटै ब्याजदरको स्किम ल्याएको छ। अवधि अनुसार भने ब्याजदर फरक छ।

कर्जाको ब्याजदर ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्ष अवधिका लागि ८.४९ प्रतिशत तोकिएको छ। दुवै अवधिका ब्याजदर स्थिर भएको बैंकले जनाएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले इभीका लागि ऋणको स्किम ल्याएको छ। बैंकले इभी किन्न बेसरेटमा १ प्रतिशत प्रिमियम थपेर कर्जा दिने बताएको छ। अहिले बैंकको बेसरेट ७.६४ प्रतिशत छ। बेसरेट महिनैपिच्छे परिवर्तन हुन्छ।

इन्धन सवारीका लागि भने बैंकले लोनको स्किम ल्याएको छैन।

सानिमा बैंक

सानिमा बैंकले ७ र १० वर्ष अवधिको अटो लोन स्किम ल्याएको छ। बैंकले ७ वर्ष अवधिको कर्जामा ८.४९ प्रतिशत स्थिर ब्याजदर तोकेको छ।

१० वर्ष अवधिको अटो कर्जाको ब्याजदर भने परिवर्तन हुनेछ। लामो अवधिको कर्जामा बेस रेटमा २ प्रतिशत प्रिमियम तोकिएको छ।

महालक्ष्मी विकास बैंक

नाडा अटो शोमा विकास बैंकका तर्फबाट सहभागिता जनाउने महालक्ष्मी विकास बैंक एक्लो हो। यसले ९.९९ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने स्किमसहित स्टल राखेको छ।

125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका