
वाणिज्य बैंकहरुले तीन महिनाकाे अवधिमा खराब कर्जा दर ३.०१ प्रतिशतले घटाएका छन्। चैत मसान्तसम्म ३.८९ प्रतिशतमा रहेको खराब कर्जा असार मसान्तसम्म ३.७६ प्रतिशतले घटेकाे हाे । पछिल्लो समय बैंकहरुले एक दशककै धेरै खराब कर्जाको भार बोकिरहेका थिए। तर अन्तिम तीन महिना कर्जा असुलीमा जोड दिएपछि यस्तो दर घटेको देखिएको हो।
निर्माण क्षेत्रमा भुक्तानी नहुँदा कर्जा उठ्न सकेको थिएन भने सुस्त आर्थिक गतिविधिले ऋण तिर्न आउने सेवाग्राही नै घटेका थिए। यसले बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जा अधिकतम विन्दुनजिक पुगिसकेको थियो। राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको खराब कर्जाको सीमा ५ प्रतिशत छ। ५ प्रतिशतमाथि पुगेमा बैंकहरुले कर्जा उठाउन नसक्ने जोखिम रहने भन्दै नियामक राष्ट्र बैंकले ५ प्रतिशतको सीमाभन्दा तल नै खराब कर्जा कायम गर्न बैंकहरुलाई निर्देशन दिने गर्छ।
यसअनुसार बैंकहरुले खराब कर्जा कायम गर्दै आए पनि गत वर्ष भने यस्तो दरमा उच्च वृद्धि देखियो। आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिकमा ३.६१ प्रतिशतमा रहेको खराब कर्जा दोस्रो त्रैमासिकमा ३.६३ प्रतिशत र तेस्रो त्रैमासिकमा ३.८९ प्रतिशतमा पुगेको थियो। चौथो त्रैमासिकमा आइपुग्दा भने बैंकहरुले कर्जा असुलीलाई थप जोड दिएर ३.७६ प्रतिशतमा सीमित राख्न सफल देखिएकाे छ।
असार मसान्तसम्म कर्जा विस्तारलाई थाती राखेर कर्जा असुलीमा केन्द्रित हुँदा खराब कर्जादर अघिल्लो त्रैमासको तुलनामा कम देखिएको छ। अघिल्लो वर्षको तुलनामा भने बैंकहरुको खराब कर्जा वृद्धि उच्च रहँदै आएको छ। अघिल्लो वर्ष वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा २.९८ प्रतिशत थियो।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































