जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • विकल पौडेलकी पत्नी डा. बस्नेतलाई राजस्व अनुसन्धानले बोलायो, सम्पर्क राख्न एक साताको म्याद

विकल पौडेलकी पत्नी डा. बस्नेतलाई राजस्व अनुसन्धानले बोलायो, सम्पर्क राख्न एक साताको म्याद

विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलकी पत्नीसमेत छानबिनको दायरामा परेकी छिन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनमा पौडेलविरुद्ध दायर गरेको मुद्दामा पत्नी एलिना बस्नेत समेत छानबिनको दायरामा परेकी हुन्।

राजस्व अनुसन्धान विभाागले सात दिनको म्याद दिएर बस्नेतको नाममा शनिबार सूचना जारी गरेको छ। बस्नेत अमेरिकामा बस्छिन्। विभागले अमेरिकाको न्यूयोर्क अवस्थित सेक्युराज सहरमा बस्ने बस्नेतलाई ७ दिनभित्र उपस्थित हुन भनेको छ। विभागले विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ तथा राजस्व चुहावट तथा नियन्त्रण ऐन २०५२ अनुसार सूचना प्रकाशित गरिएको स्पष्ट पारेको छ।

स्रोतका अनुसार गैरकानुनी रुपमा आर्जन गरेको कमाइ विकलले पत्नीका नाममा अमेरिका पठाएका थिए। त्यही आधारमा बस्नेतलाई पनि अनुसन्धान गर्न खोजिएको हो। अख्तियारले पौडेलसहित उनकी श्रीमती एलिना बस्नेतको सम्पत्ति समेत जफत गर्न माग दाबी गरेको थियो।

विकल र पत्नी एलिनाको नाममा युनाइटेड ओभरसिज बैंक, सिंगापुर र बैंक अफ अमेरिका नेशनल एसोसिएसन, अमेरिकामा रकम जम्मा हुँदाको प्रचलित विनिमय दर अनुसार २८ करोड ९५ लाख ७५ हजार ६ सय ८९ रुपैयाँ ७३ पैसा जम्मा रहेको अख्तियारले जिकिर गरेको थियो।

एलिना बस्नेतको नाममा जम्मा रहेको रकमसमेत अमेरिकामा रहेको बैंक अफ अमेरिका नेशनल एसोसिएसनमा एलिना र विकलको संयुक्त खातामा सिंगापुरमा रहेको बैंकोटेक प्रा.लि.बाट सिधै रकम दाखिला भएको हुँदा उक्त रकममाथि उल्लेखित कानुनी व्यवस्था बमोजिम बिगो जफतको अख्तियारले माग दाबी गरेको थियो।

अमेरिकाको घर खरिद गर्न विकलले १ करोड ५२ लाख ७० हजार ७ सय ४० रुपैयाँ रकम गिफ्टको रूपमा एलिनालाई दिएको अख्तियारको जिकिर थियो।

घर खरिद गर्दाको बाँकी रकम ४ करोड ४२ लाख ६२ हजार ३ सय ६० रुपैयाँको सम्बन्धमा कुनै स्रोत खुलाउन नसकेको अख्तियारको दाबी थियो।

जेठ दोस्रो साता पौडेलसहित ४ जनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ९ करोड ६२ लाख भ्रष्टाचार गरेको ठहरसहित अदालतले नेपाल सरकारलाई २५ करोड ४७ लाखभन्दा बढी नोक्सानी भएको जनाउँदै २ वर्ष कैद सजाय सुनाएको थियो। यस्तै, झुठा विवरण पेस गरी भ्रष्टाचार गरेको आरोपको पछिल्लो मुद्दामा विशेषले उनलाई १ वर्ष कैद र १० हजार जरिबाना फैसला गरेको थियो।

उनीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन र प्रेस खरिद अनियमितता आरोपमा ४० करोड बिगो मागदाबीको अझै २ मुद्दा विचाराधीन छन्। केन्द्रको उपकरण खरिदमा मुद्दा लागेकै बेला पौडेलले अमेरिकाको न्युयोर्कमा श्रीमती बस्नेतको नाममा ७ करोडको घर किनेको खुलेको थियो। न्युयोर्कको अपस्टेट मेडिकल युनिभर्सिटीको क्यान्सर सेन्टरमा कार्यरत बस्नेत पेसाले डाक्टर हुन्।

विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ तथा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिन विभागद्वारा जारी सूचनामा एक साताभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम कारबाही हुने उल्लेख छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन आरोपमा गत जेठ ९ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले आरोपपत्रमा उनका बाबुआमा र श्रीमतीको नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको छ।

पौडेलमाथि ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग छ। पौडेलसहित उनकी श्रीमती एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेल र आमा शीतल पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि आयोगले मुद्दामा प्रतिवादी बनाउँदै विदेशी बैंकमा समेत रहेको सम्पत्ति जफत गर्न माग गरेको छ।

100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका