जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • बीमा प्राधिकरणका प्रमुख भन्छन् : दैनिक २ कप चिया छाड्ने हो भने बीमा गर्न पुग्छ !

बीमा प्राधिकरणका प्रमुख भन्छन् : दैनिक २ कप चिया छाड्ने हो भने बीमा गर्न पुग्छ !

दैनिक रुपमा दुई कप चिया घटाउन सके त्यो पैसाले बीमा गर्न पुग्ने बीमा कम्पनीको नियामक निकायका प्रमुखले बताएका छन् । यो भनाइ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको हो ।

उनले मंगलबार जनकपुरधाममा मधेस प्रदेश सरकारसँग बीमासम्बन्धी आयोजित समसामयिक विषयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा दैनिक दुई कप चिया खान छाडे बचेको पैसाले बीमा गर्न पुग्ने बताए । 

 उनको भनाईलाई आधार मान्ने हो भने, दिनको दुई कप बराबर ४० रुपैयाँ । यस हिसाबले हेर्दा एक महिनाको १ हजार २०० रुपैयाँ ।  महिनाको १ हजार २०० रुपैयाँमा १ करोड रुपैयाँको बीमा गर्न सकिन्छ त ? झट्ट सुन्दा यो कुरामा विश्वास लाग्दैन । तर, प्राधिकरण प्रमुख भन्छन्, ‘सकिन्छ, अझ दुई कप चियाको मूल्यभन्दा पनि बीमा सरल र सस्तो छ ।’

कलेज जाने विद्यार्थी होस या कामकाजी महिला यात कर्मचारी नै किन नहुन् दैनिक ४० रुपैयाँ बचत गर्दा १ करोडको बीमा गर्न सकिने बीमा लेखहरु बजारमा धेरै जिवन बीमा कम्पनीहरुले ल्याएका छन् ।

ती कम्पनीले यस्ता बीमा लेखहरु आम जनमानसमा बीमा बारे चेतना फैलाउनका लागि भएपनि ल्याएका छन्, किनकि बीमा महँगो छैन, यो अत्यावश्यक कुरा हो भन्नका लागि बीमा सर्वसुलभ बनाउन पनि ल्याएका छन् ।

‘बीमाका बारेमा सबैले बुझ्नुपर्छ, अनुदानको चलन पुरानो भयो’, उनले भने, ‘अब अनुदानलाई बीमामा रुपान्तरण गर्नु उपयुक्त हुन्छ, जोखिम हेरेर बीमा गर्नुपर्छ, बीमाबाट नै जोखिमको वित्तीय रक्षावरण हुन्छ।’

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिन २ करोड रुपैयाँ छुट्याएको बताए। उनले अन्य प्रदेशमा शुरु गरिएको घर बीमा र दुर्घटना बीमाको प्रभावकारितालाई अध्ययन गरेर त्यसतर्फ अगाडि बढ्ने योजना रहेको पनि सुनाए ।

मुख्यमन्त्री सिंहले बीमा गरेपछि बीमा कम्पनीहरु बीमितसँग सम्पर्कमा नरहने गरेको गुनासा आउने गरेको उल्लेख गर्दै बीमा गराउँदा बीमाका शर्तहरुका बारेमा बीमितलाई राम्रोसँग बुझाउनुपर्ने बताए । उनले बीमा सर्भेयर तथा बीमा अभिकर्ताका गुनासालाई पनि सम्बोधन गर्न प्राधिकरणले अनुगमनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणको काम, कर्तव्य र अधिकार, बीमा क्षेत्रको विद्यमान अवस्था, प्रदेश बीमा नीतिको आवश्यकता र बीमाको विकास एवं विस्तारमा प्रदेश सरकारको भूमिकासम्बन्धी प्रस्तुति दिएका थिए।

कार्यक्रममा मधेश प्रदेशका मन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिवतथा सहसचिव, विभिन्न निकायका प्रतिनिधि र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरुलगायतको सहभागिता थियो।

कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयकी प्रमुख प्रीति देवले गरेकी थिइन्।

95
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका