जोडिनुहोस
बुधबार, पुस ३, २०८१
बुधबार, पुस ३, २०८१
  • होमपेज
  • विश्व बैंकले नेपाललाई साढे १३ अर्ब बढी ऋण दिने

विश्व बैंकले नेपाललाई साढे १३ अर्ब बढी ऋण दिने

विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ । विश्व बैंक कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण स्वीकृत गरेको हो ।

नेपालमा कार्यान्वयन भइरहेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) हासिल गर्ने प्रयासलाई सहयोग गर्न विकास नीति सञ्चालन (डीपीओ) अन्तर्गत यो ऋण प्रदान गरिएको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकका अनुसार डीपीओको दोस्रो शृंखलाअन्तर्गत सहयोग भएको हो ।

‘कार्यक्रममा आधारित यो डीपीओ शृंखला नेपाललाई अझै बढी उत्थानशील बनाउन तथा दिगोपन हासिल गर्न उत्प्रेरकको काम गर्ने छ, यसले नेपालीका लागि दीर्घकालीन विकासको आधार सृजना र संरक्षण गर्ने छ,’ नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले भने ।

पछिल्लो तीन वर्षयता नेपालले वातावरणीय दिगोपना, सहनशीलता र समावेशी विकासका क्षेत्रमा महत्त्वाकांक्षी कार्ययोजना अघि सार्दै आएको छ । बेरोजगारी, महामारी, कमजोर समूहका लागि आर्थिक अवसरको विस्तार र जलवायु तथा अन्य वातावरणीय जोखिम जस्ता परस्पर जोडिएका चुनौतीलाई सम्बोधन गर्न सरकारले बैंकसँग ऋण लिएर खर्च गर्दै आएको जनाइएको छ ।

वायु गुणस्तर सुधार, विपद् जोखिम न्यूनीकरणका लागि जलवायु मौसमी सेवा विस्तार, वर्षभर सिंचाइ र सुरक्षित पानी आपूर्ति प्रवर्द्धन गर्दै जल सुरक्षा सुधार, सामुदायिक वन व्यवस्थापन सुदृढीकरण र भूमि सम्बन्धी योजना सुदृढीकरण गर्ने लक्ष्य अन्तर्गत कार्यक्रम सञ्चालनमा छन् ।

55
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका