नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘चेयरपर्सन क्लव सदस्य सम्मान समारोह तथा तालिम कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ । देशभरीका सयौँ उत्कृष्ट अभिकर्ताहरुको सहभागीमा काठमाडौंको सोल्टी होटलमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।कार्यक्रममा आर्थिक वर्ष २०८०।०८१ म तोकिएको लक्ष्य पुरा गर्न सफल ४९१ जना भन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लवको सदस्यता वितरण भएको कम्पनीले जनाएको छ । साथै उनीहरुलाई सम्मान पनि गरिएको थियो ।कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा दिप प्रज्वलन गरेर उक्त कार्यक्रमको सुरुवात गरेकी थिइन् । साथै, उनले चेयरपर्सन क्लवमा समावेश भएका अभिकर्ताहरुलाई क्लव सदस्यता प्रमाणपत्र समेत हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।यस्तै देशभरबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरु, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र सञ्जालमा अलग–अलग उत्कृष्ट लिडर अभिकर्तालाई सम्मान पत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ ।समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग–अलग प्रथम, द्वितीय, तृतीय हुने लिडर अभिकर्ताहरुलाई पनि सम्मानित गरिएको थियो ।समारोहमा कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले नेपालको जीवन बीमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बीमा कम्पनीको रुपमा आफूलाई स्थापित गरेको बताइन् ।कम्पनीले आउने दिनहरुमा आफ्नो प्रतिष्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालाहरुलाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको उनले बताइन् । कम्पनीलाई अग्रस्थानमा पुयाउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता उनले जनाइन् ।कार्यक्रममा कम्पनी सञ्चालक समिति अध्यक्ष अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री, नायब प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कडेल, उच्च व्यवस्थापकीय कर्मचारी तथा देशभरीबाट चेयरपर्सन क्लवमा समावेश भएका सयौं अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।कम्पनीले आफ्ना अभिकर्ताहरुलाई सोल्टी होटलमा खान, बस्न कार्यक्रमसहित नाचगाँनको समेत व्यवस्था गरेको छ । साथै भारतिय चर्चित बीमा प्रशिक्षक अमित शर्माबाट समेत तालिम प्रदान गरिएको छ ।उक्त कार्यक्रममा समावेश हुनका लागि देशका विभिन्न स्थानबाट बीमा व्यवसाय गरिरहेका अभिकर्ताहरु काठमाडौँ आएका छन् । कार्यक्रममा सहभागी अभिकर्ताहरुले उत्साही हुदैँ आउँदो दिनमा अझै दिन–रात नभनी बीमा व्यवसाय गर्न हौसला मिलेको धारणा व्यक्त गरेका छन् ।कम्पनीले ल्याएको उक्त योजनामा गत आर्थिक वर्षको अवधिमा सेल्फ कोडमा ३० लाख रुपैयाँ प्रिमियम र टीम कोडमा ५० लाख (सेल्फ कोडमा ५ लाख र टीम कोडमा ४५ लाख रुपैयाँ) बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका अभिकर्ताहरु समावेश भएका हुन् ।