Sticky Breaking News
वाणिज्य बैंकहरुको लाभांश दर निरन्तर खुम्चिँदै, तीन वटा बैंकले नदिने !
वाणिज्य बैंकहरुले वितरण गर्ने लाभांश घट्दै गएको छ । पाँच वर्षको तथ्यांक हेर्दा लाभांश दर निरन्तर खुम्चिँदै गएको छ । हाल सञ्चालित २० वाणिज्य बैंकमध्ये हालसम्म १४ वटाले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको मुनाफाबाट ११ वटा बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने तीन वटाले नदिने भएका छन् ।
लाभांश घोषणा गरेका बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक अन्य सबै बैंकको लाभांश दर घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा ११.८४ प्रतिशत लाभांश दिएको यस बैंकले आव २०८०/८१ मा त्यसको दोब्बरभन्दा बढी लाभांश दिने घोषणा गरेको छ । यस आवमा बैंकले २५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको यो लाभांश साधारणसभाबाट समेत पारित भइसकेको छ । नबिल बैंकको पछिल्लो पाँच वर्षको लाभांश दर हेर्ने हो भने एक तिहाइले घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा यस बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो । आव २०७७/७८ मा ३८ प्रतिशत लाभांश दिएको नबिलको त्यसयता भने निरन्तर लाभांश दर घटिरहेको छ । आव २०७८/७९ मा ३० प्रतिशत लाभांश दिएको उसले २०७९/८० मा ११ प्रतिशत र २०८०/८१ मा १० प्रतिशतमात्रै लाभांश दिने भएको छ ।
आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा सिद्धार्थ बैंकले १५–१५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयताका तीन आव २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमशः १३.१६, ४.२१ र ४ प्रतिशत लाभांश दिएको छ ।पछिल्लो पाँच आर्थिक वर्षमा नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, सिटिजन्स, कृषि विकास बैंक र सानिमा बैंकको पनि लाभांश दर निरन्तर घट्दो छ ।