जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • भदौ १५ गतेदेखि सर्वसाधारणमा प्रिमियम मूल्यसहित आईपीओ जारी गर्दै सिटिजन लाइफ

भदौ १५ गतेदेखि सर्वसाधारणमा प्रिमियम मूल्यसहित आईपीओ जारी गर्दै सिटिजन लाइफ

सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता  २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको थियो । १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले कर्मचारीमा प्रतिशेयर १०० रूपैयाँमा ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ विक्री गरेको छ । बाँकी १ करोड ६ लाख ८७ हजार ५०० कित्ता आईपीओमध्ये ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताहरूमा जारी भएको आईपीओ विक्री अवधि छिटोमा भदौ १९ गतेसम्म र ढिलो अवधि भदौ २९ गतेसम्मका लागि तोकिएको छ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यो कम्पनीको आईपीओ समेत छिटो अवधि भदौ १९ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

लगानीकर्ताहरूले आवेदन पेश गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । नयाँ जीवन बीमा कम्पनीको रूपमा यस कम्पनीले २०७४ साल कात्तिक २ गतेदेखि कारोबार सुरू गरेको हो ।

हाल कम्पनीले ४६ कार्यालय तथा ९४ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर सञ्चित नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ४३ करोड रूपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १७२ रूपैयाँ ४३ पैसा रहेको छ ।

1030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका