
नेपाल राष्ट्र बैंकले नेपालको मध्य र सुदूर पश्चिमाञ्चलको पहिलो विकास बैंकका रूपमा स्थापित भएको कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ। कम्जोर संस्थागत सुसासन, आर्थिक हिनामिना तथा वित्तिय अपचलनका कारण समस्याग्रस्त घोषणा गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज भन्दा करिब दुई वर्षअघि नै कर्णाली डेभलपमेन्ट बैंकमा उच्च तहबाटै वित्तिय अपचलन भएको समाचार बाहिर ल्याएको थियो। यो समाचारबारे नेपाल राष्ट्र बैंकलाई राम्रै ध्यानाकर्षण भएको थियो। तर गभर्नर कार्यालयले यो बिषय राष्ट्र बैंक संचालक समितिमा लगेर बैंकलाई कारबाहीको दायरामा ल्याउनुको साट्टो सामान्य सचेत र आर्थिक जरिवानामा मात्रै सिमित राख्यो। बैंकका एक संचालकको एमालेका उच्च तहका नेतासंगको निकटता र राजनीतिक दबाबका कारण गभर्नर महाप्रसाद अधिकारी बैंकलाई कारबाही गर्ने निर्णयबाट पछि हटेको राष्ट्र बैंक स्रोतको दाबि छ।
बैंकमा भएको के थियो ?
कर्णाली डेभलपमेन्ट बैंकमा वित्तिय अपचलन उच्च तहमा छ भन्ने सूचनाको आधारमा बिजपाटीको खोजले त्यहाँ डमी ऋणी र कम्पनी खडा गरेर अरबौं रुपैयाँको अपचलन भएको पाइएको थियो। बैंककै उच्च व्यवस्थापन, कर्जा विभागका कर्मचारी, मालपोत कार्यालय र नेपालगंजकै व्यवसायीको गिरोहको मिलोमतोमा नक्कली जग्गाधनी र ऋणी खडा गरी रातारात ऋण प्रवाह गर्ने र पैसा आफैंले अपचलन गर्ने गरेको खोजमा भेटिएको थियो। बैंकमा कर्जा लिन आउनेको जग्गा हडपेर लेख्न पढ्न नजान्ने, शारीरिक रूपमा अशक्त, बैंकमै काम गर्ने केही सोझासिधा कर्मचारीका नाममा नामसारी गरी महँगो ब्याज (सय कडा ४) मा मिटरब्याजी कर्जा दिने र हडपेको सोही जग्गा बैंकमा राखेर जग्गाको वास्तविक धितो मूल्य भन्दा धेरै ऋण लिने गरेको भेटिएको खोजले देखाएको थियो।
जग्गा नामसारी गरी ऋण बोकाउन यो गिरोहले रुकुमदेखि मान्छे सप्लाइ गर्न सक्रिय रहेको तथ्य पत्ता लगाएको थियो। त्यसरी डमी जग्गाधनी र ऋणी खडा गरेर बैंकबाट निकालिएको पैसा यही गिरोहले आफू निकटका पात्र मार्फत पुनः मिटरब्याजका लागि प्रयोग गर्ने गरेका थिए। मिटरब्याज लगाउने व्यक्ति बैंक उच्च व्यवस्थापन र संचालकका आफन्तसमेत रहेको निरीक्षणमा देखिएको छ । अचम्मको कुरा त के भने ऋण बोक्नेहरूलाई आफ्नो नाममा कहाँ कति जग्गा छ र त्यो जग्गा धितो राखेर कति ऋण लिइएको छ भन्ने नै थाहा भएको पाइएन। ऋण बोकिदिनेहरूलाई बिभिन्न प्रलोभन र धम्की दिएर कागजमा सही गर्न लगाइएको पाइयो। केहि ऋणीले भने आफुहरुलाई महिना महिनामा घर खर्च आउने भएकाले जहाँ भन्यो त्यहि औठाछाप लगाइदिएको बताएका थिए।
यसमा जिल्ला मालपोत कार्यालय बाँके र बर्दियाका केही कर्मचारीहरूको पनि मिलेमतो रहेको तथ्य फेला पारेको थियो। जग्गा नामसारी गर्ने र धितो रोक्का गर्ने काम बाँके मालपोत कार्यालयका एक कर्मचारीले सेटिङमा गर्ने गरेको तथ्य खुलेको थियो । उनले कार्यालय समयभन्दा अतिरिक्त समयमा बिहान र राति पनि कार्यालयमै बसेर जग्गाको सेटिङ मिलाउने गरेको खोजमा भेटिएको थियो। बैंकबाट ऋण लिएर मिटरब्याजी धन्दा चलाउनकै निम्ति नेपालगंजका ती व्यवसायीले २५ भन्दा बढी डमी कम्पनीसमेत खोलेको खोजमा भेटिएको थियो । नेपालगंजको न्यूरोडस्थित एउटा अफिसबाट नै उनका सबै कम्पनीहरू चलेको पाइएको थियो। उनले ऋण लिने प्रयोजनकै निम्ति कम्पनी खडा गर्ने गरेको र ऋण लिएपछि कम्पनी बन्द गरेर अर्को खोल्ने गरेको पाइएको थियो। पढ्न लेख्न नजान्नेलाई ऋण बोकाएर त्यो पैसा मिटरब्याजमा लगाएका यो गिरोहले कर्णाली बिकास बैंकका उच्च व्यवस्थापन, संचालक, नेपालगंजमा संचालित अन्य बैंक विकास बैंकका शाखा प्रमुख, मालपोत कार्यालय, प्रहरी प्रशासनको मिलेमतोमा नेपालगंजमा लूटको सञ्जाल नै स्थापित गरेको पाइएको थियो।
सम्बन्धित समाचार
लोकप्रिय समाचार





































































