जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्राधिकरणले जारी गर्‍यो ‘खेलकुद बीमालेख’, अब कुन-कुन खेलका खेलाडीको हुन्छ बीमा ?

प्राधिकरणले जारी गर्‍यो ‘खेलकुद बीमालेख’, अब कुन-कुन खेलका खेलाडीको हुन्छ बीमा ?

नेपाल बीमा प्राधिकरणले चार दर्जन बढी खेलहरू समावेश गरी खेलकुद बीमालेख जारी गरेको छ । प्राधिकरणले न्यून जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरी वर्गीकरण गरी खेलकुद बीमालेख जारी गरेको हो । 

प्राधिकरणले प्रचलित तथा राष्ट्रिय गरी ५१ वटा खेलहरूलाई समावेश गरी बीमालेख जारी गरिएको जनाएको छ ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको जोखिम बहन गराउने उद्देश्यले खेलकुद बीमालेख जारी गरिएको नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी तथा सहायक निर्देशक निर्मल अधिकारीले बताए । 

उनले भने,‘देश तथा विदेशका विभिन्न प्रतियोगितामा सहभागी हुँदा हुने दुर्घटनाबाट पुग्ने क्षति न्यूनीकरण र बहनका लागि खेलकुद बीमालेख आवश्यक थियो । यसअघि दुर्घटना बीमा अन्तर्गत भइरहेको थियो । खेलाडीहरूकै लागि बनेको बीमालेख पहिलो हो ।’

प्राधिकरणका अनुसार न्यून जोखिम प्रकृतिका खेल अन्तर्गत  टेबल टेनिस, सफ्ट  टेनिस, टेनिस, सुटिङ, गल्फ, बडीविल्डिङ एण्ड फिटनेश, स्क्वाक्स राकेट, बुद्धिचाल, विलियर्ड/स्नूकर,  पुल, बलिङ, टग अफ वार, रोप स्किपीङ्ग, आर्चरी, योग खेलकुद वर्गीकरण गरेको छ । यसको बीमा शुल्क दर भने दुई रुपैयाँ (प्रतिहजार) तोकिएको छ । 

यस्तै, सामान्य जोखिम प्रकृति अन्तर्गत ब्याडमिन्टन, क्रिकेट, हक्की, भलिबल, एभलेटिक्स, फेन्सिङ्ग, जुडो, जिम्न्यास्टि, ह्यान्डबल, बास्केटबल, पौडी, सेपाक ताक्रो, भारात्तोलोन, ट्रयाथलन, खो खो, रिङ्ग रेष्टलिङ्ग, कराते, तेक्वान्दो, उसू, बक्सिङ, फूल कन्ट्रयाक कराते, कुस्ती, साइक्लिङ रहेका छन् । 

यता,जोखमुक्तको  खेल अन्तर्गत भने इक्विसट्रियन स्पोर्टस, राफिटक्योनाई, प्याराग्लाइडिङ ह्याङगग्लाईडिङ्ग, क्लाईविङ्ग, पेन्टाथोलन, बन्जी जम्पिङग एण्ड क्यान्योनिङ, मुवाँथाई, माउन्टेन रनिङ्ग, आइस हक्की एण्ड अल्पाइन स्पोर्टस, वाटर स्पोर्टस, रग्वी, फुटबल समावेश गरिएको छ । 

खेलबाट राष्ट्रका लागि महत्त्वपूर्ण योगदान दिने खेलाडीहरूको पनि यो बीमालेखले सम्मान हुने प्राधिकरणले जनाएको छ । सरकारले गत वर्ष २०७९/८० को बजेट वक्तव्यमा नै सरकारले खेलाडीहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुने खेलाडीहरूको बीमा गरिने उल्लेख गरेको थियो । 

सोही व्यवस्थाअनुसार नै प्राधिकरणले खेलकुद बीमालेख जारी गरिएको जनाएको छ । गत आव २०७९।८० को सरकारको नीति तथा कार्यक्रममा खेलाडी बीमा अन्तर्गत खेलाडी जीवन बीमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बीमा, खेलाडी तथा प्रशिक्षण आकस्मिक बीमाको व्यवस्था गर्ने घोषणा गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्सँगको समन्वय गरेर यो बीमालेख तयार गरिएको अधिकारीले बताए । उनले भने, ‘सरकारले गत वर्षको बजेट वक्तव्यमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बीमा गर्ने उल्लेख गरेको थियो । सोही अनुसार नै प्राधिकरणले राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरेर खेलकुद बीमालेख तयार गरिएको हो ।’  आवश्यकताका आधारमा खेलहरू समावेश गरिने उनको भनाई छ । 

खेलकुद बीमालेखका केके छन् सुविधाहरू ?

खेलकुद बीमालेख अन्तर्गत बीमितको दुर्घटना भएको १८३ दिनमा मृत्यु भएमा बीमा कम्पनीले शतप्रतिशत बीमाङ्क प्रदान गर्नेछ ।  दुर्घटनाको प्रत्यक्ष कारणबाट तत्काल मृत्यु भएको वा सो अवधि भित्र मृत्यु भएमा बीमितले क्षतिपूर्ति स्वरूप शतप्रतिशत बीमाङ्क प्रदान गरिने उल्लेख छ । 

यस्तै, बीमितको पार्थिव शरीरको परिवहन तथा व्यवस्थापन गर्न र काजक्रिया खर्च बीमाङ्कको अतिरिक्त थप हुने गरी बीमाङ्कको १० प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ सोही बराबरको रकम बीमा कम्पनीले प्रदान गर्नेछ । यद्यपि, यसमा बीमकले कुनै बिल भरपाई माग नगर्ने प्राधिकरणले स्पष्ट पारेको छ । 

आंशिक अशक्तताको अवस्थामा भएमा बीमाङ्कको ५० प्रतिशत भुक्तानी गरिने छ ।बीमा गरिएको अवधि भित्र दुर्घटनाको कारणबाट बीमित अस्थायी पूर्ण असक्त भई  आफ्नो पेसा व्यवसाय गर्न पूर्ण रूपमा असक्षम भएमा बीमाङ्कको सीमा भित्र रहने गरी छ महिना सम्म बीमकले प्रति महिना बीमाङ्कको पाँच प्रतिशत वा मासिक बीस हजार रुपैयाँ मध्ये जुन कम हुन आउँछ सोही बराबरको रकम उपलब्ध गराउनेछ । औषधी उपचार खर्च दुर्घटनाको कारणबाट बीमितलाई औषधी उपचार गर्दा खर्च भएमा बीमकले बीमाङ्कको अतिरिक्त थप हुने गरी बीमाङ्कको पच्चीस प्रतिशत वा  तीन लाख मध्ये जुन रकम कम हुन्छ सो रकम सम्मको बिल भरपाई अनुसार शोधभर्ना गर्ने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार औषधी उपचार गराउने अस्पताललाई नगद रहित प्रणाली मार्फत सिधै भुक्तानी गर्न सकिने र बीमकले सोही अनुसार सिधै भुक्तानी गर्न सक्नेछन् । 

1025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका