लक्ष्मी सनराइज बैंकले छैटौं वार्षिक डिजिटल डिसेम्बर अभियान विभन्न कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । बैंकले देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरू बारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिवद्धतालाई थप जोड दिएको बैंकको दाबी छ । कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारीता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासहरु बारे विविध समूहका सहभागीहरुलाई जानकारी दिन प्यानल छलफलहरू आयोजना गरिएको थियो । ११ डिसेम्बरदेखि २९ डिसेम्बरसम्म ८ विभिन्न सहरमा छलफल आयोजना गरिएको थियो ।
प्रत्येक कार्यक्रमहरूमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूको मुख्य सम्बोधन साथै नेपाल प्रहरी, स्थानिय जनप्रतिनिधि, व्यवसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्ग समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी र स्थानीय समुदायका प्रतिनिधि लगायतका विभिन्न क्षेत्रबाट प्यानलमा समावेश रहेका थिए । यी कार्यक्रममा विद्यार्थी, युवा, कर्मचारी, उद्यमी, व्यापारीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरू गरी ५०० भन्दा बढी सहभागीहरू उपस्थित थिए ।
देशका विभिन्न समुदायहरूलाई डिजिटल साक्षरता मार्फत वित्तीय रूपमा सशक्त बनाउने उद्देश्यका साथै डिजिटल बैंकिङको प्रयोगलाई प्रोत्साहन गर्न सो कार्यक्रामहरुमा वित्तीय डिजिटल साक्षरता, डिजिटल बैंकिङले जीवनस्तरमा गर्न सक्ने सुधार, अर्थतन्त्र र व्यापक पारिस्थितिक प्रणालीमा डिजितल बैँकिङ्गको फाइदा, नेपालमा सेवा क्षेत्रको डिजिटाइजेशन परिदृश्य, नेपालमा डिजिटल बैंकिङको वर्तमान अवस्था, डिजिटल बैंकिङका चुनौतीहरू (सुरक्षा, जोखिम, ठगीका प्रकार र समाधानहरू), नेपालमा डिजिटाइजेशन र डिजिटल बैंकिङको भविष्य जस्त विषय समावेश थियो ।
बैंकले प्रविधि, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा ध्यान केन्द्रित गर्दै यस अभियानले व्यक्ति तथा व्यवसायीहरूलाई डिजिटल बैंकिङको प्रयोग गर्न विश्वस्त बनाउने प्रयास गरेको बताएको छ । विभिन्न सरोकारवालाहरु लाई सहभागी बनाई चुनौतीहरूको समाधान गर्दै लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रमले डिजिटल रूपमा साक्षर सशक्त नेपाल निर्माण गर्ने आधारको थालनी गरेको हो ।