नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि विभिन्न व्यक्तिको नाम चर्चामा छ ।
प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई नागरिकताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि अध्यक्ष पद रिक्त रहेको छ ।
कार्यकाल सकिन करिब एक महिना बाँकी रहँदा आयोगले मुद्दा दायर गरेपछि प्राधिकरण कायम मुकायम अध्यक्षको भरमा चलेको छ ।
बिमा प्राधिकरणले हाल १४ वटा जीवन बिमा, १४ वटा निर्जीबन बिमा, २ वटा पुनर्बिमा र ७ वटा लघु बिमा कम्पनीलाई अनुगमन, नियमन लगायतको काम गर्दै आएको छ ।
हाल ३७ वटा कम्पनीको नियमन गर्दै आएको बिमा प्राधिकरण आकर्षक नियामक निकाय अन्तर्गत नै मानिन्छ । बिमा प्राधिकरण विभिन्न समयमा दिइने लाइसेन्स जस्ता कारणले पनि चर्चामा आउने गरेको छ । जसले गर्दा पनि प्राधिकरणको अध्यक्ष धेरैले रुचाएको पद हो ।
आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष बन्न विभिन्न व्यक्तिले चासो देखाएका छन् ।
अध्यक्षका लागि पूर्वराजस्व सचिव तथा कृषि विकास बैंकको सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनी, उदयपुर सिमेन्टका पूर्व महाप्रबन्धक तथा नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलको नाम चर्चामा छ । यद्यपी पौडेलले भने आफ्नो रुची नरहेको बताउँदै आएका छन् ।
यस्तै अध्यक्षका लागि बिमा प्राधिकरणकै निवर्तमान कार्यकारी निर्देशक राजुरमण पौडेल तथा बिमा प्राधिकरणका पूर्व सञ्चालक समितिका सदस्यहरु कपिल ओली र जनक बरालको पनि नाम चर्चामा छ ।
प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरिसकेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न समिति बनाएको हो । समितिमा राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजक रहनेछन् भने अर्थ सचिव र विज्ञ सदस्यको रुपमा ज्योतिचन्द्र ओझा सदस्य छन् ।
प्राधिकरण स्रोतका अनुसार ओझाले अध्यक्ष नियुक्तिका लागि कार्यविधि बनाउन थालेका छन् । अध्यक्ष नियुक्तिका लागि गठित समितिले बनाएको कार्यविधि अनुसार अध्यक्ष नियुक्ति हुनेछ ।
अध्यक्षका लागि आवेदन माग गर्नेअनुसारको कार्यविधि बनेको अवस्थामा आवेदन माग गरिने वा सिफारिस समितिले उपयुक्त ३ जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ ।
पछिल्लो समय बिमामा तीन वटा जीवन र दुई वटा निर्जीवन बिमा कम्पनीलाई सञ्चालन अनुमतिपत्र दिने तयारी रहेको चर्चा छ । सोहीअनुसार केही कर्पोरेट घरानाले तयारी गरेको र अध्यक्षको नियुक्ति पनि त्यसै म्यान्डेटसहित नियुक्त गर्ने तयारी रहेको बताइन्छ ।
यस्तै जीवन र निर्जीवन गरी अरु ७ लघुबिमा थप्ने चर्चा छ । त्यसैले पनि केही स्वार्थ समूहले आफू अनुकुल अध्यक्ष ल्याउने तयारी गरेको बताइन्छ । अहिले अध्यक्षका लागि बलियो दाबेदारका रुपमा पुडासैनी रहेको बताइन्छ ।
बिमा प्राधिकरणको अध्यक्ष बन्नका लागि बिमा, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा शास्त्र उपाधि हासिल गरेको हुनुपर्ने छ । यस्तै कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने छ । यस्तै उच्च नैतिक चरित्र भएको हुनुपर्ने बिमा ऐन २०७९ मा व्यवस्था छ ।
ऐन अनुसार बिमकको सञ्चालक समितिको अध्यक्ष, सदस्य, कार्यकारी प्रमुख तथा उच्च व्यवस्थापकीय पदाधिकारीको पदबाट अलग भएको दुई वर्ष पुरा नभएको व्यक्तिले आवेदन दिन पाउँदैन ।