समाचार
अर्थमन्त्री पौडेलले गभर्नर सहभागी बैठकमा भने- अर्थतन्त्रका समस्या समाधानमा केन्द्रित बनौं


अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा रहेका समस्या समाधानमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्। उनले आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतलाई बोलाएर विद्यमान समस्यालाई प्राथमिकीकरण गरी समाधान खोज्नुपर्नेमा जोड दिए।
उनले उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थतन्त्रमा सुधारका लागि नियामक निकायका कार्यक्रमलाई प्राथमिकीकरण गरी काम गर्न जरुरी रहेको बताए।
‘वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्यालाई प्राथमिकीकरण गरी समाधान खोज्न आवश्यक छ,’ उनले भने।
बैठकमा योजना आयोगका उपाध्यक्ष र गभर्नर अधिकारीका अलावा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेपाल बैंकर्स सङ्घ, कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधिहरू सहभागी थिए।
अर्थमन्त्री पौडेलले प्राथमिकता निर्धारण गरी काम गर्दा परिणाम निकाल्न सहज हुने बताए।
बैठकमा अर्थतन्त्र, बैंक, सहकारी, तरलता, कर्जा, बीमा, अनुदान, पुँजी बजार लगायत विषयमा छलफल भएको थियो । अर्थतन्त्रको एउटा क्षेत्रमा असर देखिँदा त्यसको अर्को क्षेत्रमा पनि प्रभाव पर्ने हुँदा एक अर्को निकायबीच समन्वय बढाउनेबारे पनि छलफल भएको थियो।