

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित दर्जन कार्यकारी निर्देशकको कार्यकाल सकिँदैछ । २०७६ चैत २४ गते नियुक्त भएका गभर्नरको अधिकारीको ५ वर्ष आगामी चैत २५ देखि सकिँदैछ । यसैबीच राष्ट्र बैंकका अधिकृत विशिष्ट (कार्यकारी निर्देशक) पदमा कार्यरत एक दर्जनको अवकाश हुँदैछ । आगामी एक वर्षभित्र करिब १ दर्जन कर्मचारीले कार्यकारी निर्देशक पदबाट अवकाश पाउने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकमा आन्तरिक बढुवा भएर पुग्ने उच्च पद कार्यकारी निर्देशक हो । कार्यकारी निर्देशकमध्येबाट दुई जनालाई नेपाल सरकार मन्त्रिपरिषद्ले डेपुटी गभर्नरमा नियुक्त गर्छ । गभर्नरले कार्यकारी निर्देशकमध्येबाट चार जनालाई डेपुटी गभर्नर नियुक्तका लागि सिफारिस गर्ने व्यवस्था छ ।
पाँच वर्ष कार्यकाल हुने डेपुटी गभर्नर कार्यकारी निर्देशकमध्येबाट नै नियुक्त हुने भए पनि त्यो राजनीतिक नियुक्ति हुने हो । आन्तरिक प्रतिस्पर्धामा बढुवा भएर पुग्ने सबैभन्दा ठूलो पद कार्यकारी निर्देशक हो । डेपुटी गभर्नर नियुक्त भएका कार्यकारी निर्देशकले स्वतः अवकाश पाएको मानिने व्यवस्था राष्ट्र बैंक कर्मचारी सेवा विनियमावलीमा छ ।
कार्यकारी निर्देशक देवकुमार ढकाल गएको मंसिर ६ गते ५८ वर्ष उमेर हदका कारण अवकाश भइसकेका छन् । ५८ वर्ष उमेर हदका साथै ३० वर्ष सेवा अवधि र कार्यकारी निर्देशक भएको सात वर्ष सेवा अवधि पूरा भए पनि अवकास पाउने व्यवस्था छ ।
यस्तै अधिकृत प्रथम श्रेणीमा १२ वर्ष सेवा पूरा भएपछि पनि अवकाश हुने व्यवस्था छ । २६ माघमा कार्यकारी निर्देशकको पहिलो वरीयतामा रहेका नेफिल मताङ्गी मास्केले अवकाश पाउने राष्ट्र बैंकले जनाएको छ । उनले कार्यकारी निर्देशकका रूपमा सात वर्ष सेवा अवधि पूरा गरी अवकाश पाउन लागेका हुन् ।
त्यस्तै २८ चैतमा एकसाथ कार्यकारी निर्देशक मुकुन्द क्षेत्री र पिताम्बर भण्डारी पनि अवकाश पाउँदैछन् । सोही दिन कार्यकारी निर्देशकका रूपमा उनीहरूको सात वर्षे कार्यकाल पूरा हुँदैछ । चैतमै कार्यकारी निर्देशकहरू सुमनकुमार अधिकारी र रामबहादुर मानन्धरले ५८ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेको राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले जनाएको छ ।
५८ वर्ष उमेर हदकै कारण जेठ २०८२ मा कार्यकारी निर्देशकहरू प्रकाशकुमार श्रेष्ठ र तुलसीप्रसाद घिमिरेले अवकाश पाउनेछन् । यस्तै प्रदीपराज पौड्याल पनि साउन २०८२ मा ५८ वर्ष उमे हदका कारण अवकाश पाउने राष्ट्र बैंकले जनाएको छ ।
साउन २०८२ मै कार्यकारी निर्देशकका रूपमा सात वर्ष अवधि पूरा गरी ऋषिकेश भट्टले अवकाश पाउनेछन् । असोज २०८२ मा कार्यकारी निर्देशकका रूपमा ७ वर्ष अवधि पूरा गरी डा. गुणाकर भट्टले अवकाश पाउनेछन् । चैत २०८२ मा निर्देशकमध्येबाट दुई जना कार्यकारी निर्देशकमा बढुवा भएर अवकाश पाउनेछन् ।
निर्देशकको पहिलो वरीयतामा रहेका रामप्रसाद गौतम कार्यकारी निर्देशकमा बढुवा भएर असार २०८२ मा अवकाश पाउने राष्ट्र बैंकले जनाएको छ । यस्तै अर्का कार्यकारी निर्देशक विमलराज खनालले पनि पुस २०८२ मा अवकाश पाउनेछन् । चैत २०८२ मा हाल निर्देशकमा कार्यरत रोशनकुमार सिग्देल पनि कार्यकारी निर्देशकमा बढुवा भएर अवकाश पाउने राष्ट्र बैंकले जनाएको छ ।