

विभिन्न जीवन बीमा कम्पनीहरूले पाँच वर्षमा बीमितलाई ६६ अर्बभन्दा बढी दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको ५ वर्षको अवधिमा ६६ अर्ब ५८ करोड रुपैयाँको दाबी भुक्तानी दिएका हुन् ।
आव २०७६/७७ मा दाबी भुक्तानी संख्या १ लाख ६ हजार २३९ बापत् २२ अर्ब ३२ करोड क्षतिपूर्ति दिएको देखिन्छ । यो संख्या वृद्धि भएर आव २०८०/८१ सम्ममा आइपुग्दा बीमा कम्पनीहरूले २ लाख ८० हजार १५१ बापत ६६ अर्ब ५८ करोड रुपैयाँको दाबी भुक्तानी गरेका छन् ।
आव २०७७/७८ मा दाबी भुक्तानीको संख्या १ लाख ३६ हजार ४६४ रहेकोमा बीमा कम्पनीले ३६ अर्ब ३६ करोड रुपैयाँ दाबी भुक्तानी दिएका छन् । त्यस्तै, आव २०७८/७९ मा २ लाख ४० हजार ९६८ र आव २०७९/८० मा २ लाख ५४ हजार ७९८ दाबी भुक्तानीको संख्या रहेको छ ।
निर्जीवन बीमा कम्पनीले आव २०७८/७९ मा ५३ अर्ब ८५ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् भने आव २०७९/८० मा ६४ अर्ब ५६ करोड बीमितलाई दाबी भुक्तानी गरेको देखिन्छ ।आव २०७६/७७ मा भुक्तानी हुन बाँकी दाबी संख्या १२ हजार ६३२ रहेकोमा आव २०८०/८१ मा आइपुग्दा ५८ हजार १२५ रहेको छ । आव २०८०/८१ मा भुक्तानी हुन बाँकी दाबी रकम ५ खर्ब ८१ अर्ब रहेको छ । आव आव २०७६/७७ मा भुक्तानी हुन बाँकी दाबी रकम २ अर्ब ९५ करोड रुपैयाँमात्रै बाँकी थियो ।तथ्यांक हेर्दा वार्षिक रूपमा दाबी भुक्तानीको संख्या बढ्दै गएको देखिन्छ भने भुक्तानी रकम पनि बढ्दै गएको छ । साथै भुक्तानी दाबी संख्या पनि बढ्दै गएको छ । जीवन र निर्जीवन कम्पनीबाट कुल २६अर्ब ७९ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी हुन नसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
निर्जीवन बीमाको दाबी भुक्तानी अवस्थानिर्जीवन बीमा कम्पनीहरुले पछिल्लो पाँच वर्षमा बीमितलाई १ खर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी दिएका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको ५ वर्षको अवधिमा एक खर्ब ७८ अर्ब रूपैयाँ दाबी भुक्तानी दिएका हुन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुबाट आव २०७७/७८ मा एक लाख ४६ हजार ९३१, २०७८/७९ मा १ लाख ४७ हजार ५२४ र आव २०८०/८१ मा एक लाख ५१ हजार ७२३ दाबी भुक्तानी संख्या रहेको देखिन्छ ।आव २०७६/७७ मा निर्जीवन बीमा कम्पनीहरुले कुल ११ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।
आव २०८०/८१ मा आइपुग्दा यो रकम बढेर १७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । आव २०७९/८० मा निर्जीवन नीर्जीवन बीमा कम्पनीले सर्वाधिक २४ अर्ब १७ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । आव २०७७/७८ को तथ्यांक हेर्दा निर्जीवन बीमा कम्पनीले बीमितलाई १७ अर्ब ५३ करोड दाबी भुक्तानी दिएका छन् ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा कुल दाबी भुक्तानी हुन बाँकी रकम १३ अर्ब २० करोड ७१ लाख रुपैयाँ रहेकोमा आव २०७७/७८ मा बढेर २१ अर्ब ७५ करोड ५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै आव २०७८/७९ मा २३ अर्ब ४० करोड ३६ लाख रुपैयाँ भुक्तानी दाबी हुन बाँकी रहेकोमा आव २०७९/८० मा २१ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको देखिन्छ ।
आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । चालु आव २०८१/८२ को पहिलो ६ महिनामा भने ६५ हजार १२० दाबी भुक्तानीको लागि निवदेन पर्दा निर्जीवन जीवन बीमा कम्पनीहरुले १० अर्ब १६ करोड रुपैयाँ बीमा दाबी भुक्तानी दिएका छन् ।