बैंकिङ्ग
प्रभु बैंकले डिजिटल भुक्तानीमा गर्यो नयाँ सुरुवात, मुक्तिनाथमा भीम यूपीआई सेवा शुभारम्भ


प्रभु बैंकले डिजिटल भुक्तानी र क्रस बोर्डर कारोबारमा नयाँ सुरुवात गरेको छ। मुक्तिनाथ मन्दिर परिसरमा भीम यूपीआई सेवा शुभारम्भ गरी डिजिटल भुक्तानी र क्रस बोर्डर कारोबारमा नयाँ सुरुवात गरेको बैंकले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहबीच सेवा शुभारम्भ गरे। यो सेवा सुरुवातसँगै अब भारतीय नागरिकले आफ्नो बैंक खाताबाट भीम यूपीआईमार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्नेछन्।
बैंकले यो सेवालाई क्रस बोर्डर डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भनेको छ। समारोहमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा, राष्ट्र बैंकको पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु रानामगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायत उपस्थित थिए।
गभर्नर अधिकारीले भीम यूपीआई सेवा शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने बताए। उनले राष्ट्र बैंकले ‘डिजिटल नेपाल’ अभियानलाई प्राथमिकता दिँदै आएको र यस्ता नवीनतम प्रविधिको प्रवर्धनमा प्रतिबद्ध रहेको बताए।