जोडिनुहोस
बुधबार, बैशाख १०, २०८२
बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • वैशाख महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

वैशाख महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

वैशाख महिनाका लागि तीन वटा वाणिज्य बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने दुई वटाले घटाएका छन् । बाँकी १५ वटा बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । वैशाखमा एक वर्षे मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६।०२५ प्रतिशत र न्यूनतम ४।०६१ प्रतिशत कायम भएको छ । चैतमा मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६।०१४ र न्यूनतम ४।०५१ प्रतिशत रहेको छ ।

यस्तै, २० वाणिज्य बैंकहरुमध्ये वैशाखका लागि साधारण बचतको ब्याजदर एउटा बैंकले बढाएको छ भने एउटाले घटाएको छ । जसअनुसार वाणिज्य बैंकहरुमा वैशाखका लागि साधारण बचतको औसत अधिकतम ब्याजदर ४।४१४ प्रतिशत र न्यूनतम ३।०१३ प्रतिशत कायम भएको छ । यही चैतमा यस्तो ब्याजदर क्रमशः ४।४६४ र ३।०१३ प्रतिशत रहेको थियो ।

पछिल्ला हरेक महिना बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । सोही क्रममा वैशाखका लागि पनि नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।कुमारी बैंकले ०।०९, सानिमा बैंकले ०।१ र नेपाल बैंकले ०।३५ प्रतिशतविन्दुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। विश्लेषकहरूका अनुसार, यो कटौती बैंकहरूको तरलता स्थिति सहज बन्दै गएको संकेत हो। तर, एभरेष्ट बैंकले भने ०।६१ प्रतिशतविन्दु ब्याजदर बढाएर प्रतिस्पर्धी रणनीति अवलम्बन गरेको देखिएको छ।

नेपाल बैंक, सानिमा बैंक र कुमारी बैंकले ब्याजदर घटाएका बैंकहरू हुन्। नेपाल बैंकले व्यक्तिगत निक्षेपमा चैतको ५।५ प्रतिशत दरलाई घटाएर बैशाखमा ५।१५ प्रतिशत बनाएको छ भने संस्थागत निक्षेपमा ५।१५ बाट घटाएर ४ प्रतिशत निर्धारण गरेको छ। यस्तै, सानिमा बैंकले व्यक्तिगततर्फ ६।०५ बाट घटाएर ५।९५ प्रतिशत तथा संस्थागतमा ४।३ बाट ४।२ प्रतिशत पुर्‍याएको छ। कुमारी बैंकले पनि व्यक्तिगत निक्षेपमा ६।०१ बाट घटाएर ५।९२ प्रतिशत र संस्थागतमा ५।०१ बाट ४।९२ प्रतिशत तोकेको छ।

ब्याजदर बढाउने एक मात्र बैंक एभरेष्ट हो। यसले व्यक्तिगत निक्षेपको ब्याजदर ६ प्रतिशतबाट बढाएर ६।६१ प्रतिशत र संस्थागत निक्षेपको दर ५ बाट बढाएर ५।६१ प्रतिशत पुर्‍याएको छ।

अन्य बैंकहरूले भने चैत महिनाकै दरलाई यथावत राखेका छन्। जस्तै, एनएमबि र एनआइसी एशिया बैंकले व्यक्तिगततर्फ ६।६ र संस्थागततर्फ ५।६ प्रतिशत ब्याज दिनेछन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगतमा ६।५ र संस्थागतमा ५।१ प्रतिशत, प्राइम कमर्सियलले व्यक्तिगतमा ६।२५ र संस्थागतमा ३।५ प्रतिशत ब्याज दिनेछन्। स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ ६।२५ र संस्थागततर्फ ३।२५ प्रतिशत ब्याज कायम राखेको छ भने प्रभूले व्यक्तिगतमा ६।१ र संस्थागतमा ५ प्रतिशत ब्याज दिने निर्णय गरेको छ।

त्यसैगरी, ग्लोबल आइएमई, माछापुच्छ्रे, सिद्धार्थ, र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याज कायम राखेका छन्। संस्थागत निक्षेपमा उनीहरूको ब्याजदर क्रमशः ४।४, ४, ५ र ३ प्रतिशत रहेको छ। हिमालयन र नेपाल एसबिआई बैंकले व्यक्तिगत निक्षेपमा ५।५ प्रतिशत ब्याज दिनेछन् भने संस्थागततर्फ क्रमशः ४।५ र ४ प्रतिशत ब्याज तोकिएको छ।

लक्ष्मी सनराइज र नबिल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा समानरुपमा ५।७५ प्रतिशत ब्याज दिनेछन्। तर, संस्थागत निक्षेपमा लक्ष्मीले ४।५ प्रतिशत र नबिलले ४।०५ प्रतिशत ब्याज दिने भएका छन्। सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपमा ५।६५ प्रतिशत र संस्थागतमा ४ प्रतिशत तोकेको छ भने कृषि विकास बैंकले व्यक्तिगतमा ५।५१ प्रतिशत र संस्थागतमा ३।२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका