

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सुरक्षा र पारदर्शिता बढाउँदै लगेको छ । अब भुक्तानी सेवा प्रदायकलाई पिएसओमार्फत मात्र कारोबार गर्ने व्यवस्था गर्दै राष्ट्र बैंकले देशको वित्तीय प्रणालीमा सुरक्षित र पारदर्शी डिजिटल कारोबार सुनिश्चित गर्न नयाँ नियामक प्रावधान ल्याएको छ ।
नयाँ निर्देशनअनुसार, सबै लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक पीएसपीले आफ्नै प्रणालीभित्र मात्र सीमित हुने कारोबार बाहेकका सबै वित्तीय कारोबार लाइसेन्स प्राप्त भुक्तानी प्रणाली सञ्चालक पीएसओमार्फत गर्नुपर्नेछ । यो नियमले सुरक्षा बढाउन, वित्तीय जोखिम रोक्न, र नेपालको डिजिटल भुक्तानी प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्न मद्दत गर्नेछ । यसअघि, पीएसपीहरूलाई डिजिटल कारोबार गर्न थप लचिलोपन थियो, जसले पीएसओहरूलाई बाइपास गर्ने सम्भावना थियो ।
अद्यावधिक नियमले सबै पीएसपीको बाह्य कारोबार लाइसेन्स प्राप्त र निगरानी गरिएका च्यानलहरूमार्फत मात्र गर्नुपर्ने सुनिश्चित गर्छ, जसले अवैध डिजिटल कारोबार, र वित्तीय अनियमितता जस्ता जोखिमहरू घटाउनेछ । यो नियामक कदमले वित्तीय पारदर्शिता, उपभोक्ता संरक्षण, र अन्तर्राष्ट्रिय मनी लन्डरिङ(एएमएल) कानुन अनुरूपको पालना सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । यसले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई अझ भरपर्दो र प्रभावकारी बनाउनेछ ।
बढ्दो डिजिटल कारोबार
नेपालमा पछिल्लो दुई महिनामा इन्टरनेट बैंकिङमार्फत् कारोबार गर्ने प्रवृत्ति र रकममा बढोत्तरी हुँदै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ माघ महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार र रकम थोरै मात्र भए पनि उकालो लाग्ने प्रवृत्ति देखिएको हो।
आर्थिक वर्ष २०८०/८१ को पौषबाट माघमा जाँदा सङ्ख्या १२ हजार ८६० बढेर समग्रमा ३ लाख ९१ हजार ४०५ मा पुगेकोमा माघबाट फागुनमा जाँदा पनि कारोबार सङ्ख्यामा १९ हजार ३१९ बढेर ४ लाख १० हजार ७२४ मा पुगेको विवरणमा उल्लेख छ।
कारोबार रकमका हिसाबले हेर्दा पुसबाट माघमा पुग्दा ६६ करोड ३० लाख रुपैयाँले बढेकोमा माघबाट फागुनमा पुग्दा भने झिनो अर्थात् १ करोड रुपैयाँले बढेको पाइएको छ। यस अर्थमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकम पछिल्लो दुई महिनामा बढेको हो।