जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • माछापुच्छ्रे बैंकको लोभलाग्दो सुधार, एनपीएलबाहेक सबै सूचकमा छलाङ

माछापुच्छ्रे बैंकको लोभलाग्दो सुधार, एनपीएलबाहेक सबै सूचकमा छलाङ

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ९ महिना सकिँदा अर्बबढीको नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिभन्दा करिब २५ करोड बढी अर्थात् १ अर्ब १० करोड २६ लाख रुपैयाँ नाफा गरेको हो ।

बैंकले गत आवको नौ महिना सकिँदासम्म ८५ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो । ब्याजदर घट्नु र व्यवसाय सामान्य दरले विस्तार गरेको नतीजा बैंकको वित्तीय विवरणमा झल्किएको छ ।

बैंकको खुद ब्याज आम्दानीमा राम्रो सुधार आएको छ । गत आवको चैत मसान्तसम्म ३ अर्ब ८५ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले ४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

यसको खुद फि तथा कमिसन आम्दानी पनि बढेको छ । बैंकले १ वर्षको अवधिमा निक्षेप ११ अर्बले विस्तार गरेर थप १४ अर्ब रुपैयाँबराबरको कर्जा दिएको छ । चैत मसान्तसम्म बैंकले कुल १ खर्ब ६९ अर्ब ६६ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ४० अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । तर, बैंकले गत आवको ९ महिनामा गरेकोभन्दा केही कम नोक्सानी व्यवस्थाका लागि रकम छुट्याएको छ ।

७१ करोड ५७ लाख मात्र प्रोभिजन गर्दा नाफामा सुधार हुन सघाउ पुगेको हो । नाफामा सुधार हुँदा बैंकको प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ पुगेको छ । गत आवको यही अवधिमा ईपीएस ९.८१ रुपैयाँमात्र थियो ।

प्रतिसेयर नेटवर्थ १५६.२० रुपैयाँ पुग्दा निष्क्रिय कर्जा अनुपात भने बढेको छ । गत वर्षको चैतमा ३.६८ प्रतिशत रहेको बैंकको एनपीएल ४.५९ प्रतिशत पुगेको छ । चैत मसान्तको तथ्यांकअनुसार बैंकको प्राथमिक पुँजी अनुपात ८.८ प्रतिशत छ ।

नाफामा सुधार आएपनि वक्यौता ब्याज र गैरबैंकिङ सम्पत्तिका कारण बैंकको वितरणयोग्य नाफा मात्रै ७ करोड ७ लाख रुपैयाँमात्र छ अर्थात् चैतको वित्तीय विवरणले बैंकले ०.३६ प्रतिशत लाभांश दिनसक्ने देखाएको छ । गत आवको यही अवधिमा बैंकसँग लाभांश दिनसक्ने क्षमता थिएन ।

1150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका