
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिबाट पूर्व गभर्नर डा.विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । समिति गठन भएपछि एकपटक पनि बैठक नबसेकाले राजीनामा दिनुपरेको डा.भट्टराईले बताएका छन् ।
मंगलबार ह्वाट्सएपमार्फत आफ्नो राजीनामा पठाएको बताए । ’उताबाट स्वीकृत होस्, नहोस् केही भएन । काम नै गर्न नपाएपछि समितिमा बसिरहनुको औचित्य छैन,’ डा. भट्टराईले भने । गत चैत ११ गते अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठनको निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकले उपप्रधान तथा अर्थमन्त्री पौडेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल र राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो ।
यसैबीच उपप्रधान तथा अर्थमन्त्री पौडेलले डा.भट्टराईले राजीनामा दिएका र अब उनको ठाउँमा अर्को सदस्य नियुक्ति गरेर नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले काम गर्ने बताएका छन्। अर्थमन्त्री पौडेलले भने, ‘अब अर्को सदस्य समितिमा ल्याएर काम अगाडि बढ्ने छ । अर्को समिति बन्दैन । यही समितिमा एक जना सदस्य ल्याएर काम अगाडि बढ्छ । विभिन्न कारणले गर्दा समितिको बैठक नबसेको हो । अदालतमा मुद्दा लगायतका विषयहरु छन् । त्यसै कारणले गर्दा बैठक नबसेको हो ।’
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































