जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • आईपीओमा कमिसन प्रकरण: इप्पान अध्यक्षसहितका पदाधिकारीसँग अख्तियारले लियो बयान

आईपीओमा कमिसन प्रकरण: इप्पान अध्यक्षसहितका पदाधिकारीसँग अख्तियारले लियो बयान

जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डले कमिसन मागेको आरोप लगाएका ऊर्जा उत्पादकहरुको संस्था इप्पानका पदाधिकारीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ ।

बिहीबार दिउँसो अख्तियारले इप्पानका अध्यक्ष गणेश कार्कीसहितका केही पदाधिकारीलाई कार्यालयमा बोलाएर बयान लिएको हो । आईपीओ निष्कासन प्रक्रियामा रहेका कम्पनीहरूसँग धितोपत्र बोर्डले कमिसन मागेको विषयमा अख्तियारले उनीहरुसँग सोधपुछ गरेको स्रोतको भनाइ छ ।

‘बोर्डले कमिसन मागेको विषयमा ऊर्जा उत्पादकका पदाधिकारीसँग अख्तियारले के भएको हो भनेर जान्न र बुझ्न खोजेको हो, ‘ स्रोतले भन्यो, ‘कमिसन माग भएका विषयमा प्रमाण माग्ने काम भयो ।’

यसअघि बुधबार अख्तियारले खुमलटारस्थित धितोपत्र बोर्डको कार्यालयमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको थियो। अख्तियारले आईपीओ निष्कासन प्रक्रियामा रहेका केही कम्पनीका फाइलहरू नियन्त्रणमा लिएको हो।

धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रियामा रहेका कम्पनीहरूसँग कमिसन मागेको आरोप स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले लगाएको थियो भने बुधबार र बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले यसबारे प्रश्न गर्दै छानबिनको माग गरेका थिए ।

इप्पानका पदाधिकारीहरुले धितोपत्र बोर्डले प्रवर्द्धकहरूसँग ५० करोडभन्दा कम चुक्ता पुँजी भएका लागि ७ प्रतिशत र ५० करोडभन्दा बढी चुक्ता पुँजी भएकालाई ७ प्रतिशतभन्दा बढी कमिसन मागेको आरोप लगाएका छन् ।

हाल धितोपत्र बोर्डमा ८९ कम्पनीको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार १३२ रुपैयाँ बराबरको ४० करोड ४७ लाख ६ हजार ५४० कित्ता आईपीओ निष्काशनका लागि अनुमतिको पर्खाइमा छन् । जसमध्ये जलविद्युत समूहका मात्र ४३ कम्पनीको १९ अर्ब ४४ करोड ३४ लाख २४ हजार ३३६ रुपैयाँ बराबरको १९ करोड ३ लाख ६१ हजार ५९५ कित्ता सेयर अनुमतिको पर्खाइमा छ ।

1385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?