जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • भट्टलाई गभर्नर बनाउन देउवाले दिएको अल्टिमेटम सकियो

भट्टलाई गभर्नर बनाउन देउवाले दिएको अल्टिमेटम सकियो

नेपाल राष्ट्र बैंकको गभर्नरमा गुणाकर भट्टलाई नियुक्त गर्न सत्ता साझेदार नेपाली कांग्रेसले दिएको वैशाख २५ को अल्टिमेटम आज (बिहीबार) सकिएको छ ।

पटक पटकको भेटपछि प्रधानमन्त्री केपी ओलीले आजसम्मलाई समय दिन देउवासँग आग्रह गरेअनुसार देउवा तयार भएका थिए । तर आज पनि भट्ट गभर्नर नियुक्त नभएपछि नेपाली कांग्रेसलाई सरकारमै बस्ने वा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने ? नैतिक संकट परेको छ ।

देउवाले भट्टलाई गभर्नर नबनाउने संकेत देखासँगै शुक्रबार बिहानका लागि आफ्नो पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । बैठकले अनपेक्षित निर्णय गर्नसक्ने देखिएको छ । अघिल्लो गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्नेमा दुई महिना बितिसक्दा पनि कांग्रेस र एमालेको किचलोले गभर्नर नियुक्त हुन सकेको छैन् ।

गभर्नर नियुक्ति पेचिलो बन्दै जाँदा ओली प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालसँग नजिकिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि ओलीलाई समर्थन गर्ने बताएको छ । एमालेले हालकी वरिष्ठ डेपुटी गभर्नर एवं कायममुकायम गभर्नर डा. नीलम ढुंगानालाई गभर्नर बनाउने तयारी गरेको छ । गभर्नर बन्न राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका भट्टको अहिलेसम्म राजीनामा स्वीकृत भएको छैन् । राजीनामा स्वीकृत नभएसम्म उनी गभर्नरको उम्मेदवार बन्न सक्दैनन् ।

ढुंगाना आफू गभर्नरको दावेदार हुँदाहुँदै भट्टको राजीनामा स्वीकृत गरेर प्रतिस्पर्धीलाई बाटो सहज गरिदिन तयार छैनन् । आफू कामु गभर्नर भएकाले भट्टको राजीनामा स्वीकृत नगर्ने अडान राख्दै आएकी ढुंगानालाई राष्ट्र बैंकका कांग्रेसनिकट कर्मचारीहरु आएर राजीनामा स्वीकृत गर्न दबाब दिएका थिए । तर ढुंगानाले पूर्ण गभर्नर आएपछि उसैले राजीनामा स्वीकृत गर्ने भन्दै अडान राखेकी थिइन् ।

गभर्नर हुन तीन–चार बर्षदेखि नै तयारी गरेकी ढुंगाना राष्ट्र बैंकको पहिलो महिला गभर्नर बनेर इतिहास रच्ने दाउमा छिन् । तर राजनीतिक समीकरण र धेरै व्यक्ति एवं समूहको स्वार्थका कारण उनको इच्छा चुनौतिपूर्ण बनेको छ । यता भट्टले पनि गभर्नर बन्न पश्चिम क्षेत्रका सम्पूर्ण नेता, साँसद, प्रशासक, न्यायाधीशमार्फत देउवालाई दबाब दिएका छन् । पश्चिमको दबाबका कारण पनि देउवाले भट्टको पक्षमा अडान छोड्न नसकेका हुन् ।

तर एमालेले सरकार र अर्थ मन्त्रालयको नेतृत्व आफ्नै पार्टीको भएकोले गभर्नर पद आफूहरुले नछोड्ने रणनीति बनाएको देखिन्छ । सरकारमा नहुँदा पनि गभर्नर आफनो पार्टीका हुँदा समानान्तर सरकार सञ्चालन गर्न सकिने विश्वास उसको छ । यता कांग्रेसले भने यसअघि एमालेले महाप्रसाद अधिकारीलाई गभर्नर बनाएको र अहिले सरकारमा ठूलो दल आफूहरु भएकाले गभर्नर पद आफूहरुले पाउनुपर्ने तर्क गर्दै आएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक एमालेलाई दिएकाले पनि राष्ट्र बैंकको गभर्नर पदमा आफूहरुको स्वतः दावेदारी रहने कांग्रेस नेता प्रकाशशरण महतको छ ।

990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका