जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • हिमालयन बैंकमा सबैभन्दा ठूलो स्वामित्व स्थापित गर्दै नेशनल लाइफ

हिमालयन बैंकमा सबैभन्दा ठूलो स्वामित्व स्थापित गर्दै नेशनल लाइफ

निकै लामो चर्चा र बहसपछि हिमालयन बैंकमा रहेको पाकिस्तानी साझेदार हबिब बैंकको सेयर नेशनल लाइफ इन्स्योरेन्सले पाउने भएको छ । हिमालयनको सबैभन्दा ठूलो स्वामित्व हबिबसँग थियो । उसँग १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर नेशनल लाइफले पाउने लगभग सुनिश्चित भएको सम्बन्धित स्रोतले दाबी गरेको छ ।

बैंकले गत जेठ ३० मा सूचना प्रकाशित गरी हबिबको स्वामित्वमा रहेको सम्पूर्ण सेयर एकमुष्ठ विक्री गर्नका लागि संस्थापक सेयरधनीहरुबाट आवेदन मागेको थियो । उक्त आवेदन दिने समय विहीबार सकिएको छ । यसबीच तीन वटा खरीद प्रस्ताव परेको हिमालयन बैंकसम्बद्ध स्रोतले जनाएको छ । हबिबले यी सेयरहरु ११२ रुपैयाँ ८० पैसा न्यूनतम मूल्यांकन राखेर विक्रीका लागि खुल्ला गरेको थियो । त्यसमा लिलाम बढाबढ भई सबैभन्दा धेरै मूल्य तिर्ने संस्थापकलाई नै उक्त सेयर विक्री गर्ने तयारी बैंकको छ ।

यसअघि हिमालयन रिइन्स्योरेन्ससँग भएको ‘डिल’का आधारमा ११२ रुपैयाँ ८० पैसाको मूल्य तय भएको हो । हबिबको सेयर हिमालयन रिले सिधै खरीद गर्ने कोसिस गरेपछि यसअघि प्रक्रिया रोकिएको थियो । लामो प्रतीक्षा पछि हबिबको सेयर विक्रीका लागि संस्थापकहरु समक्ष लिलाम निकालिएको थियो । संस्थापक समूहले सेयर किन्न निवेदन नदिएको खण्डमा संस्थापक बाहिरका व्यक्ति वा कम्पनीका लागि लिलाम निकाल्नुपर्ने हुन्छ । हिमालयन रिइस्योरेन्स अहिले संस्थापक नभएका कारण यो प्रक्रियाबाट विक्री नभएको अवस्थामा मात्रै उसले समेत विक्री प्रक्रियामा सहभागिता जनाउन पाउने थियो । तर यो सेयर विद्यमान संस्थापक समूहले नै खरीद गर्ने भएको छ ।

कति पैसामा हुँदै छ कारोबार ?
गत चैत मसान्तको तथ्यांकमा आधारित रहेर हिमालयन बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार उसको ‘नेटवर्थ’ (खुद सम्पत्ती) प्रतिशेयर १७१ रुपैयाँ ४४ पैसा थियो । उसले अहिले पनि थप शेयर निष्काशन (एफपीओ) गरिरहेको छ, जुन १५७ रुपैयाँमा विक्री भइरहेको छ । बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता नयाँ सेयर सर्वसाधारणलाई बेच्न लागेको हो । यसै बेला उसले ११३ रुपैयाँभन्दा पनि सस्तो भाउमा संस्थापक सेयर विक्री गर्न खोजेको छ । यसअघि १३० रुपैयाँसम्म हाल्न तयार भएको हिमालयन रिइन्स्योरेन्स पछिल्ला वित्तीय प्रतिवेदनहरु खराब देखि थालेपछि ११२.८० रुपैयाँमा झरेको थियो । तर अहिले संस्थापक समूहले त्योभन्दा महँगो पैसामा सेयर किन्ने भएका छन् ।

हिमालयन बैंक सम्बद्ध स्रोतले दिएको जानकारी अनुसार प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रतिकित्ता ११५ रुपैयाँका दरले २ लाख ५० हजार कित्ता सेयर किन्न निवेदन दिएको छ । यो भनेको ज्यादै कम सेयर संख्या हो । अर्का एक जना व्यक्तिलले २५ लाख कित्ता सेयरका लागि निवेदन दिएको स्रोतको दाबी छ । उनले प्रतिकित्ता ११६ रुपैयाँका दरले मूल्य तिर्ने प्रस्ताव गरेका छन् । ती व्यक्ति को हुन् भन्ने स्पष्ट खुलाइएको छैन । तर धेरैले शशिकान्त अग्रवाल हुनसक्ने अनुमान गरेका छन् ।

अहिले हिमालयनमा आधारभूत सेयरधनीका रुपमा रहेका प्राकृतिक व्यक्ति उनै हुन्, जो सम्भावित खरीदकर्ताको सूचीमा सबैभन्दा अगाडी देखिन्छन् । यी दुबैले सेयर पाउने संभावना लगभग शून्य छ । किनकी, नेशनल लाइफ इन्स्योरेन्सले हबिबद्वारा विक्रीमा राखिएको पुरै सेयर ११८ रुपैयाँ ८८ पैसामा किन्न प्रस्ताव लगेको छ । अर्थपथलाई प्राप्त विवरण अनुसार नेशनलले प्रस्ताव गरेको मूल्य सबैभन्दा उच्च हो । त्यसैले हबिबको स्वामित्व अब नेशनल लाइफको हातमा पुग्ने करीब निश्चित देखिएको छ । यो सेयर बेचेर हबिबले ३ अर्ब ३३ करोडभन्दा बढी रकम प्राप्त गर्ने छ ।

सबैभन्दा ठूलो सेयरधनी बन्दै नेशनल लाइफ
यो सेयर कारोबार भएपछि नेशनल लाइफ इन्स्योरेन्स हिमालयन बैंकमा सबैभन्दा ठूलो सेयरधनी बन्ने छ । ऊसँग अहिले नै ०.८८ प्रतिशत संस्थापक सेयर छ । हबिबको सेयर किनेपछि नेशनलसँग यो बैंकमा १३.८१ प्रतिशत संस्थापक स्वामित्व हुन्छ ।

बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार नेशनल लाइफसँग हिमालयनको ०.३७ प्रतिशत साधारण सेयर पनि छ । यो समेत जोड्दा १४ प्रतिशतभन्दा ज्यादाको स्वामित्व नेशनल लाइफसँग हुने देखिन्छ ।

नेशनल लाइफमा सिद्धेश्वर कुँवर सिंहको सबैभन्दा ठूलो स्वामित्व छ । त्यसपछि राष्ट्रिय वाणिज्य बैंकको पनि करीब उति नै सेयर छ । त्यसपछि रणबहादुर शाह र रिता मल्लको नाममा ज्यादा स्वामित्व देखिन्छ । यसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चौंथो ठूलो स्वामित्व छ, जुन ४.७७ प्रतिशत हुन्छ । प्रभू महालक्ष्मीमा त सबैभन्दा ठूलो स्वामित्व नै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको छ । ऊसँग ६.९८ प्रतिशत स्वामित्प रहेको कम्पनीको वार्षिक प्रतिवेदनमा देखिन्छ । त्यसपछि ज्योति विकास बैंक र तेस्रो नम्बरमा प्रभू बैंकको स्वामित्व छ ।

सायद त्यही भएर होला, हिमालयन बैंकबाट पहिले नै छुट्टीएर गएका नेपाल इन्भेष्टमेन्टका एक जना मालिक पृथ्वीबहादुर पाँडेले हिमालयनमा आफ्नो रुची बढाइरहेको भनेर कतिपयले अनुमान गरेका छन् । इन्भेष्टमेन्ट बैंकको आधारभूत स्वामित्व भएका संस्थाहरुमात्रै भिड्न जानुले पाँडेको ‘चासो’ हुनसक्ने संकेत गरेको जानकार बताउँछन् ।

765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?