जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • गभर्नर पौडेलसामु उद्योगीले मागे मनोबल उकास्ने प्याकेज

गभर्नर पौडेलसामु उद्योगीले मागे मनोबल उकास्ने प्याकेज

नेपाल राष्ट्र बैंकले जेनजीको आन्दोलनले क्षति ब्यहोरेका उद्योगी व्यवसायीलाई सहुलियतका कार्यक्रम ल्याउने भएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार बैंक तथा वित्तीय संस्था सम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीसँग अलग-अलगरुपमा छलफलका क्रममा यसका लागि कार्यदल बनाएर अध्ययन गर्ने बताएका छन्।

जेनजीको आन्दोलनले वित्तीय क्षेत्र र उद्योग व्यवसायमा परेको असर र यसबाट सिर्जित चुनौतीमा केन्द्रित रहेर छलफल गर्न व्यवसायी र बैंकरलाई बोलाएको थियो। उद्योगी व्यवसायीले तोडफोड र आगजनीका कारण व्यावसायिक क्षेत्रले ठूलो क्षति ब्यहोरेको उल्लेख गर्दै मनोबल उकास्न राज्यका निकायले सहयोग गर्नुपर्ने बताए।

‘गाडीका शोरुमदेखि डिपार्टमेन्टल स्टोर र होटल आगजनीले ध्वस्त भएका छन्। जसले गर्दा हाम्रो मनोबल खस्किएको अवस्था छ। त्यसैले राष्ट्र बैंकले मनोबल उकास्ने खालका सहुलियतका प्याकेज ल्याउनुपर्छ,’ छलफलमा सहभागी व्यवसायीलाई उद्यृत गर्दै राष्ट्र बैंकका एक कर्मचारीले भने।

छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल लगायत उद्योगी सहभागी थिए। सहयोग मागेका उद्योगी व्यवसायीलाई गभर्नर पौडेलले घटनाबाट प्रभावित उद्योग-व्यवसायको पुनरुत्थानका निम्ति आवश्यक नीतिगत सहजीकरण गर्ने आश्वासन दिए।

जेनजीले गरेको प्रदर्शनका क्रममा भदौ २४ गते व्यावसायिक प्रतिष्ठानहरुमा तोडफोड र आगजनी भएको थियो। कतिपय व्यावसायिक प्रतिष्ठान पूर्णरुपमा नष्ट भएका छन्। कतिपय उद्योगी व्यवसायीका निजी निवासलाई पनि प्रदर्शनकारीले निशाना बनाएका थिए।

गभर्नर पौडेलले व्यवसायीहरुको चासोका विषयमा बैंकरहरुसँग छलफल गरेका छन्। उनले प्रतिकूल परिस्थितिमा बैंक तथा वित्तीय संस्थाबाट आन्दोलनको निशानामा परेका व्यवसायीलाई के कस्तो सहयोग गर्न सकिन्छ भनेर जिज्ञासा राखेका थिए।

गभर्नरसँगको छलफलमा बैंक तथा वित्तीय संस्था सम्बद्ध एसोसिएसनका पदाधिकारी
जवाफमा बैंकरहरुले तोडफोड र आगजनीमा परेका व्यवसायीलाई केही राहतका प्याकेज ल्याउनुपर्ने बताए। नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्तले आन्दोलनका कारण कतिपय व्यवसायीले ठूलो क्षति व्यहोरेकाले उनीहरुका लागि राहतका प्याकेज चाहिने बताएको जानकारी दिए।

‘गभर्नरसाबले आन्दोलनको मारमा परेका उद्योगीलाई के कस्तो सहयोग दिन सकिन्छ भनेर चासो राख्नुभएको थियो। हामीले अप्ठेरोमा परेका व्यवसायी सहयोग नपाए उठ्न सक्दैनन् भन्यौं,’ पन्तले भने, ‘गभर्नरसाबले टास्कफोर्स बनाएर क्षतिबारे अध्ययन गरी सहुलियतको प्याकेज ल्याउने बताउनुभएको छ।’

गभर्नर पौडेलले प्रतिकूल परिस्थितिमा बैंक तथा वित्तीय संस्थाबाट भइरहेको सेवा प्रवाहबारे चासो राख्दै डिजिटल बैंकिङ र भुक्तानी सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए। बैंकरहरुले दिउँसोको समयमा कर्फ्यू हटेकाले आइतबारबाट सबै शाखा सञ्चालनमा आउने बताएका थिए।

छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, नेपाल वित्तीय संस्था संघका अध्यक्ष पन्त लगायत उपस्थिति थिए।

550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका