जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • सन्तोष राठी: क्रिकेटरदेखि एनआईसी एशिया बैंकका कामु सीईओसम्म

सन्तोष राठी: क्रिकेटरदेखि एनआईसी एशिया बैंकका कामु सीईओसम्म

विराटनगरको मारवाडी समुदायका प्राय: सवै युवा पुस्ता उद्योग र व्यापारमा संलग्न छन् । उनीहरु उद्योग र व्यवसायमा नयाँ प्रविधिको खोजी गरिरहेका छन् । तर, त्यही समुदायका सन्तोष राठी भने पुर्खाले गर्दै आएको उद्योग व्यवसाय छाडेर बैंकको जागिर तर्फ लागे । उनी यसबेला एनआईसी एशिया बैंकको कामु सीईओ बनेका छन् ।

बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले दिएको राजीनामा स्वीकृत गर्दै बैंक सञ्चालक समितिले गत साता कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । २०७९ मा दोस्रो कार्यलकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका न्यौपानेले कार्यकाल सकिनुभन्दा एक वर्षअघि नै राजिनामा दिएसँगै राठीले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।

बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत राठीलाई बैंकले सीईओ नियुक्त नहुँदासम्म कामु सीईओको जिम्मेवारी दिएको हो । राठीलाई नै बैंकले सीईओ नियुक्त पनि गर्न सक्नेछ ।

सन्तोष विराटनगरको मारवाडी समुदायमा सामान्य परिवारका प्रतिनिधि हुन् । उनका बुबा शंकर भन्सार एजेन्ट थिए । उनका दाजु प्रदिप कपडाका व्यापारी हुन् । सन्तोष न त बुबासँगै भन्सार एजेन्टको काम सिक्न हिँडे न त दाजुसँग कपडाको व्यापार गर्न मिटर समाउन विराटनगरको मेन बजारमा रहेको पसल पुगे ।

उनका दाजु प्रदिपको अहिले पनि विराटनगरमा जय शंकर जेनेरल स्टोर र भारतको जोगबनीमा कपडाको नारायण स्टोर छ ।

बुवा र दाजुको पेसातर्फ सन्तोष आर्कषित भएनन् । उनलाई पढ्ने र क्रिकेटर बन्ने हुटहुटी चल्यो । त्यसैक्रममा उनी २०४८ साल तिर विराटनगरको युथ क्रिकेट क्लबमा छिरे । त्यही क्लबमा रहेर एक दशकसम्म क्रिकेट खेल्दा उनी राष्ट्रिय टोलीमा समावेश भए । अलराउण्डर सन्तोष ओपनर फाष्ट बलर र ब्याटिङ गर्थे । उनी भन्छन्, ‘क्रिकेट मेरो प्यासन थियो ।’

२०४८ सालमा धनगढीमा भएको राष्ट्रिय प्रतियोगितामा उनले पूर्वाञ्चलवाट डेब्यू गरे । त्यसपछि उनले एक दशकसम्म राष्ट्रिय क्रिकेट खेले । त्यसबखत उनी क्लब स्तरीय म्याच खेल्न पाकिस्तानको कराँची, भारतको बंगलोर, दिल्ली, रायपुर र इन्दोरसम्म पुगे ।

यहाँको अरनिको बोडिङ स्कुलवाट एसएलसी, देवकोटा उच्च माविवाट प्लस टु, कोशी कलेजबाट व्यवस्थापनमा स्नातक र यहीको डिग्री कलेजबाट स्नातकोत्तर उत्तीर्ण गरेका सन्तोश क्रिकेट खेलसँगै यहीको कोशी र मेरिल्याण्ड कलेजमा पढाउथे पनि ।

क्रिकेट खेल्ने र कलेज पढाउने सिलसिलामा सन्तोषलाई बैंकमा जागिर खाने नयाँ हुटहुटी चल्यो । परिवारका सबै सदस्यले उनलाई जागिर नखाई उद्योग खोल्ने वा व्यापार गर्न सुझाए । परिवारका कान्छ र प्याउला अनि दृण स्वभावका सन्तोष परिवारको सुझाव नमानी बैंकको जागीर खोज्न भौतारिए ।

त्यसैक्रममा उनी सन् २००३ मा कुमारी बैंकको सहायक सुपर भाइजरमा नियुक्त भए । उनले त्यहाँ चारवर्ष अनुभव बटुले । त्यसपछि उनी बैंक अफ एशियामा सिनियर अफिसरमा नियुक्त हुँदै ब्राञ्च म्यानेजर भए ।

त्यसैबेला बैंक अफ एशिया र नेपाल इन्ड्रष्टेरियल कर्मशीयल बैंक मर्ज भएपछि एनआईसी एशिया बैंक बन्यो । सन्तोष त्यो बैंकको विराटनगर शाखाको पहिलो म्यानेजर बन्दै अहिले यही बैंकको कामु सीईओ छन् । उनी भन्छन्, ‘पूर्खाले गर्दै आएको पेशा छाडेर आफनो बेग्लै परिचय बनाउने लक्ष्य थियो, अहिले त्यसकै लागि संघर्ष गरिरहेको छु।’

555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका