निर्जीवन बीमा
नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउन आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ल्यायो नयाँ बीमालेख

नेपालमा आउने विदेशी पर्यटकको सुरक्षा र विश्वासलाई प्राथमिकता दिँदै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले हिमालयन गार्डियन नेपाल (एचजीएन) ट्रेकिङ तथा सुरक्षा उपकरण व्यवस्थापन कम्पनीसँगको सहकार्यमा विदेशी पर्यटकलाई लक्षित गरी नयाँ बीमा योजना ल्याएको छ।
खास गरेर नेपालको विभिन्न भागमा घुम्नका लागि, पदयात्राका लागि र हिमाल आरोहणका लागि आउने विदेशी पर्यटकले अब नेपालमा अवतरण गर्नासाथ सुरक्षित बीमालेख प्राप्त गर्नेछन्। उक्त बीमालेखको बारेमा जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले नेपाललाई अझै सुरक्षित पर्यटन गन्तव्य बनाउनका लागि नयाँ बीमालेखको सुरुआत गरिएको जानकारी दिए।
यो बीमालेखअन्तर्गत कम्पनीले तीन तहको सुरक्षा प्रदान गर्नेछ। जसमा पहिलो साँस्कृतिक भ्रमण, शैक्षिक भ्रमण तथा अवकाश यात्राका लागि, दोस्रो पदयात्राका लागि र तेस्रो हिमाल आरोहणका लागि फोकस गरेर उक्त बीमालेखको सुरुआत गरिएको कम्पनीले स्पष्ट पारेको छ। जसबाट पर्यटक सुरक्षित र ढुक्क भएर यात्रा गर्न सक्नेछन्।
यात्राका क्रममा केही त्यस्तो दुर्घटना हुन गएमा सहज र नगदरहित औषधोपचारसमेत यस बीमालेखमा व्यवस्था गरिएको सीईओ श्रेष्ठले जानकारी गराए। यस बीमालेख खरिद गर्ने प्रत्येक पर्यटकसँग सेटेलाइटजडित विशेष उपकरण उपलब्ध रहेको हुनेछ। जसबाट आपतकालीन अवस्थामा यात्रुले सिधै बटन थिचेर तुरुन्तै उद्धारका लागि सेवाप्रदायक र चिकित्सकहरुसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्। जसले गर्दा घाइते पर्यटकको अवस्था हेरी तुरुन्त सहज रुपमा स्थलमार्ग तथा हेलिकप्टर सेवासहित अस्पतालहरुमा औषधोपचार गराउन सकिनेछ।
अन्ततः ढुक्क भएर सुरक्षित साथ हरेक पर्यटकले नेपालको हरेक क्षेत्रमा घुम्न, दृश्यावलोकन, पदयात्रा अथवा हिमाल आरोहण गर्न सक्ने कम्पनीले जनाएको छ।
बीमालेखअन्तर्गत हुने कभरेजहरु
आपतकालीन उद्धार खर्चः हेलिकप्टर वा स्थलमार्गद्वारा गर्ने उद्धार सेवाको खर्च समावेश।
चिकित्सा खर्चः अस्पताल उपचार, शल्यक्रिया, औषधि र अन्य स्वास्थ्य सेवामा हुने खर्च।
उच्च जोखिम क्षेत्र वा उचाइजन्य सुरक्षाः विभिन्न उचाइमा हुने स्वास्थ्य समस्या वा जोखिमलाई कभरेज।
अपांगता वा मृत्यु लाभः दुर्घटनाबाट स्थायी अपांगता वा मृत्यु भएमा प्रदान गरिने बीमा रकम।
चौबीसै घन्टा आपतकालीन सहायता सेवाः बहुभाषिक हेल्पलाइन र अन्तर्राष्ट्रिय उद्धार संस्थामार्फत निरन्तर सहायता।
कम्पनीले यस बीमालेखका माध्यमबाट नेपालको पर्यटकको संख्या र पर्यटकको बसाइ अवधि लम्ब्याउन मद्दत पुग्ने विश्वास लिएको छ। जसले गर्दा पर्यटनको क्षेत्रमा नेपालले अझै प्रगति हासिल गर्ने र नेपाल एक सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विश्वसामु परिचित हुने विश्वास पनि कम्पनीले लिएको छ।
सीईओ श्रेष्ठले उक्त बीमालेख नेपालमा दर्ता भएका ट्रेकिङ तथा पर्यटन एजेन्सीहरुमार्फत सहजै खरिद गर्न सक्ने व्यवस्था रहेकोसमेत जानकारी दिए। ‘हाम्रो लक्ष्य केवल बीमा बेच्नुमात्र नभएर नेपालमा आउने सम्पूर्ण पर्यटकलाई सुरक्षित महसुस गराउनु र संकटमा पर्यटकको जीवन रक्षामा तत्काल सहायता गर्नु पनि हो’, उनले भने।
सम्बन्धित समाचार
लोकप्रिय समाचार






































































