
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीले किटानी जाहेरी लिएको छ। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलपछि प्रहरीले मंगलबार अपराह्न जाहेरी लिएको हो। भदौ २३ गते जेनजीको प्रदर्शनमा ज्यान गुमाएका युवाका परिवारका सदस्यले जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएका हुन। जाहेरीमा ओली र लेखकलाई तत्काल पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।
जेनजीले भदौ २३ गते गरेको प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको थियो। त्यसदिन २१ जनाले ज्यान गुमाएका थिए। स्कुल ड्रेसमा रहेका युवाको समेत गोली लागेर मृत्यु भएको थियो। आन्दोलन नियन्त्रणका लागि अरु उपायले काम नलागे घुँडामुनि गोली हान्न सकिने भए पनि टाउको र छातीमा गोली प्रहार गरिएपछि सरकारी दमनको चर्को विरोध भएको थियो। त्यसदिन ३०० भन्दा बढीलाई गोली लागेकामा ३० जना घाइते अझै विभिन्न अस्पतालमा उपचाररत छन्।
मृतकका परिवारका सदस्यले बुझाएको किटानी जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ। ‘हामीले प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूको सिग्नल पाएपछि मृतकका परिवारका सदस्यले ल्याएको किटानी जाहेरी दर्ता गरेर जाँचबुझ आयोगमा पठाएका छौं,’ परिसरका एक अधिकृतले बिजमाण्डूसँग भने।
जेनजी समुहका अगुवा भनिएका सुदन गुरुङ लगायतको समूहले सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर ओली र लेखकलाई पक्राउ गर्नका लागि जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो। प्रहरीले जाहेरी लिन नमानेपछि गुरुङको टोली सोमबार साँझ नै गृहमन्त्री अर्याललाई भेट्न सिंहदरबार पुगेको थियो।
गृहमन्त्री अर्याल जाहेरी लिने पक्षमा देखिएका थिए। प्रहरी भने कसैले जाहेरी दिएको भरमा नै दर्ता गरेर अनुसन्धान गर्न नमिल्ने तर्क गरेर पन्छिन खोजेको थियो। त्यसपछि गृहमन्त्री अर्याल र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
बालुवाटारमा सुरक्षा निकायका अन्य संगठनका प्रमुख पनि थिए। बालुवाटारको बैठकमा सुरक्षा अधिकारीहरुले भदौ २३ र २४ गतेको घटनाबारे न्यायिक जाँचबुझ आयोगले छानबिन गरिरहेको अवस्थामा प्रहरीले किटानी जाहेरी लिंदा स्थिति जटिल बन्न सक्ने बताएका थिए।
भदौ २३ मा भएको दमन र २४ गते भएको विध्वंसको छानबिन गर्न सरकारले असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएको थियो। त्यो आयोगले यसअघि नै ओली, लेखकसहितका पाँच जनालाई काठमाडौं उपत्यका नछाड्न भनिसकेको छ।
जेनजीको आन्दोलनमा अधिक बल प्रयोगका कारण चर्को आलोचना भएपछि लेखकले २३ गते राति राजीनामा दिएका थिए भने ओलीले २४ गते दिउसो राजीनामा दिएर बालुवाटार छोडेका थिए।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































