
तिहारको अवसरमा देशभर सार्वजनिक बिदा दिइए पनि अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो बैंकिङ सेवा निरन्तर सञ्चालन गर्ने भएका छन्। ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै बैंकहरूले तिहार अवधिभर केही चयनित शाखा सञ्चालनमा राख्ने निर्णय गरेका हुन्।
नेपाल राष्ट्र बैंकले गत हप्ता परिपत्र जारी गर्दै भाइटीका (कार्तिक ३० गते) बाहेकका दिन बैंकहरूले भन्सार जाँचपास, अन्तरबैंक कारोबार र जरुरी बैंकिङ सेवा निरन्तर राख्न सक्ने व्यवस्था गरेको थियो। त्यसअनुसार वाणिज्य बैंकहरू, विकास बैंकहरू र केही वित्त कम्पनीहरूले आ–आफ्ना शाखा सञ्चालन तालिका सार्वजनिक गरेका छन्।
तिहार जस्तो ठूला पर्वमा पनि बैंकिङ कारोबार रोकिएमा बजार, व्यापार र आयात–निर्यातमा समस्या आउने भएकाले बैंकहरूले यो वर्ष पनि सेवा निरन्तर राख्ने नीति लिएका हुन्। धेरैजसो बैंकहरूले सीमित शाखा सञ्चालन गर्दै नगद निकासी, खाता कारोबार, भुक्तानी, राजस्व बुझ्ने, रेमिट्यान्स र चेक कारोबारका सेवा उपलब्ध गराउने जनाएका छन्।
राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक लगायतका वाणिज्य बैंकहरूले तिहार अवधिभर सेवा सञ्चालन गर्ने शाखाहरूको सूची सार्वजनिक गरिसकेका छन्।

सम्बन्धित समाचार
लोकप्रिय समाचार





































































