जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • निर्वाचन अगाडि नै कांग्रेसको महाधिवेशन

निर्वाचन अगाडि नै कांग्रेसको महाधिवेशन

नेपाली कांग्रेसले निर्वाचनअघि नै महाधिवेशन गर्ने निर्णय गर्ने भएको छ। जारी केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यतालिकालाई हुबहु पारित गर्ने तयारी गरेको छ। महाधिवेशनमार्फत नेतृत्व फेरेरमात्र निर्वाचनमा जानुपर्ने आवाज कांग्रेसमा बलियो बन्दै गएसँगै केन्द्रीय समितिले गगनको कार्यतालिका सदर गर्ने तयारी गरेको एक पदाधिकारीले जानकारी दिए। ‘विशेष महाधिवेशनदेखि नियमित महाधिवेशनको दबाब चर्किएको छ। यसैले पनि चुनावअघि नै महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्छ भन्नेमा लगभग केन्द्रीय पदाधिकारी पुगिसकेका छन्,’ ती पदाधिकारीले भने।

गगनले १५औं महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव केही दिनअघि केन्द्रीय समिति बैठकमा पेस गरेका थिए। संस्थापनइतरका नेता डा शेखर कोइराला र अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगनको प्रस्तावलाई साथ दिएकामा संस्थापन पक्षकै कतिपय नेता पनि निर्वाचनअघि महाधिवशेन गर्नुपर्ने पक्षमा उभिएका छन्। शेखरले शुक्रबार आफू पक्षीय जिल्ला सभापतिहरुसँग पुसमै महाधिवेशन गर्नुपर्ने बताएका थिए। ‘बाहिर मौनता साँधेको भन्ने हल्ला छ। महाधिवेशन निर्वाचनअघि नै गर्नुपर्ने माग चर्किएको छ। हाम्रो लाइन के हो?’ छलफलमा जिल्ला सभापतिहरुले शेखरलाई प्रश्न गरेका थिए।

जवाफमा कोइरालाले आफू दुई वर्षदेखि नै नियमित महाधिवेशनको पक्षमा रहेको र अहिले पनि त्यही अडानमा रहेको बताएका थिए। ‘दुई वर्षदेखि नै म नियमित महाधिवेशनको पक्षमा छु। पुसमा महाधिवेशन गरेर नयाँ नेतृत्व लिएर मात्र चुनावमा जानुपर्छ,’ कोइरालाले जिल्ला सभापतिहरुसँगको भेटमा भनेका थिए। विश्वप्रकाश पनि विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्न निर्वाचनअघि महाधिवेशन गर्नैपर्ने बताउँछन्। ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मुल प्रश्न हो? विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्छ,’ शर्माले आइतबार भनेका छन्।

संस्थापन पक्षका पुराना नेताहरुले निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान राखेपछि यही समूहमा असन्तुष्टि देखिएको छ।
सहमहामन्त्री फरमुल्लाह मन्सुर निर्वाचनमा नयाँ नेतृत्व लिएरमात्र जानुपर्ने भन्दै गगनको पक्षमा खुलेका छन्। सभापति शेरबहादुर देउवा समूहबाट १४औं महाधिवेशनमा सहमहामन्त्री जितेका मन्सुरले यो पटक महामन्त्री थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्नुपर्ने प्रस्ताव नै राखेका छन्।

देउवा समूहका असन्तुष्ट नेताहरु आइतबार सोल्टीमोडस्थित एक होटलमा भेला राखेका थिए। केन्द्रीय सदस्य राजेन्द्र केसीले डाकेको भेलामा उपस्थिति नेताहरुले नियमित महाधिवेशनको पक्षमा उभिने निर्णय गरेका छन्। भेलामा देउवा पक्षका २५ केन्द्रीय सदस्यलाई डाकिएकामा १५ जना सहभागी थिए। ‘भेलामा १५ जना सहभागी थिए। नियमित महाधिवेशनमै जोड दिनुपर्छ भन्ने सहमति जुटेको छ,’ ती केन्द्रीय सदस्यले भने। भेलामा पुष्पा भुसाल, डा डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, अमृत अर्याल, बहादुर सिंह लामा, अब्दुल सतार, तारामान गुरुङ, मोहन आचार्यलगायत थिए।

देउवा पक्षका अर्का केन्द्रीय सदस्य मदन अमात्यले आफू चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा आफू रहेको र कार्यवाहक सभापतिलाई खुला पत्र लेख्ने तयारी गरेको बताए। ‘म खुला पत्र लेख्दैछु। निर्वाचनअघि नै महाधिवेशन हुनुपर्छ भन्ने आम कार्यकर्ताको माग हो नि,’ अमात्यले भने। यसरी संस्थापन पक्षकै नेता निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएपछि कांग्रेसले केन्द्रीय समिति बैठकबाट गगनले पेस गरेको कार्यतालिका सदर गर्ने तयारी गरेको हो।

सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको छ। निर्वाचन भएमा सार्नेगरी यो निर्णय सर्वसम्मत हुने नेताहरु बताउँछन्। ‘अहिले पुसमै महाधिवेशन गर्ने प्रस्तावलाई सदर गर्ने र अनेक कारण देखाएर निर्वाचनपछि सार्ने संस्थापन पक्षको रणनीति छ,’ कांग्रेसका अर्का पदाधिकारीले भने। करिब एक महिनाअघि सुरु भएको केन्द्रीय समितिमा बल्ल १२० जनाले आफ्नो धारणा राखेका छन्। १६७ सदस्यीय केन्द्रीय समितिमा अझै ४५ जनाले धारणा राख्न बाँकी छ।

265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका