
कुनै समय ७ दर्जनभन्दा बढी रहेका विकास बैंकहरु अहिले डेढ दर्जन पनि छैनन् । नेपाल राष्ट्र बैंकले ल्याएको मर्जर तथा प्राप्तिको नीतिपछि स्वत मर्जरमा गए भने कुनै विकास बैंकहरुले राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुँजी पुर्याउनका लागि संस्थाहरु एक आपसमा गाभिए । केही संस्था वाणिज्य बैंकहरुमा पनि गाभिए । जसले गर्दा अहिले विकास बैंकहरुको संख्या घटेर १७ वटामा सिमित भएका छन्। त्यहि १७ वटा विकास बैंकमध्येको एक हो, सांग्रिला डेभलपमेन्ट बैंक । २०६४ साल भदौ ९ गतेदेखि पोखराबाट सञ्चालनमा आएको सांग्रिला र नेपालगञ्जबाट २०६१ साल कात्तिक १३ गतेदेखि सञ्चालनमा आएको बागेश्वरी डेभलपमेन्ट बैंक मिलेर राष्ट्रियस्तरको कार्यक्षेत्र भएको सांग्रिला डेभलपमेन्ट बैंक बनेको हो ।
यी दुई बैंक एक आपसमा मर्जर भएर २०७१ असार ३१ गते एकिकृत कारोबार सुरु गरेका थिए । क्षेत्रीयस्तरका दुई विकास बैंकहरु मर्जर हुादा चुक्ता पुँजी ६४ करोड रुपैयाँ मात्रै थियो । क्षेत्रीयस्तरका दुई विकास बैंकहरु मर्जरपछि राष्ट्रियस्तरको विकास बैंकको रुपमा स्तरोन्नति भएर काठमाडौंमा केन्द्रीय कार्यालय सारेसँगै देशभर आफ्नो जरा फैलाउँदै लग्यो । र, अहिले देशको एक सबल विकास बैंकको रुपमा स्थापित भएको छ । हाल राष्ट्रियस्तरको कार्यक्षेत्र रहेका ८ वटा मात्रै विकास बैंक छन्, जसमध्येको एक हो सांग्रिला डेभलपमेन्ट बैंक । पुँजी वृद्धि र प्रतिस्पर्धाको होडमा साढे ६ दर्जन विकास बैंकहरुले आफ्नो अस्तित्व मेटाउँदै गर्दा सांग्रिला भने आफुलाई देशको एउटा बलियो विकास बैंकको रुपमा स्थापित गर्न सफल भएको छ ।
कोरोना महामारी र त्यसपछि सिर्जित संकटले अर्थतन्त्रसँगै बैंकिङ क्षेत्रलाई नराम्रोसँग प्रभावित गरिरहेको छ । यस्तो संकटपूर्ण अवस्थामा पनि बैंकले आफूलाई सन्तुलित भएर अघि बढाइरहेको छ । बैंकले हालै मात्र आफ्नो २० औं वार्षिककोत्सव मनायो ।
मध्यपश्चिमाञ्चल तथा पश्चिमाञ्चल क्षेत्रमा स्थापना भई वित्तीय क्षेत्रमा आफ्नो अलग पहिचान बनाएको बागेश्वरी डेभलपमेन्ट बैंक र पोखराको न्यूरोडबाट सञ्चालनमा आएको सांग्रिला डेभलपमेन्ट बैंक एक आपसमा गाभिएर राष्ट्रिय पहिचाहन बनाएको सांग्रिला डेभलपमेन्ट बैंकले दुई दशक पार गरी तेस्रो दशकमा प्रवेश गरेको छ ।
बागेश्वरीसाँग बराबर हैसियतमा मर्जर भएर राष्ट्रियस्तरको बनेको सांग्रिलाले आफूलाई अझ बृहत् बनाउन २०७४ असार २० मा कसमस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको थियो । २०७१ असारमा मर्जर भएर राष्ट्रियस्तरको विकास बैंक बन्दै गर्दा करिब ६ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकको निक्षेप अहिले करिब ९ गुणाले बढेको छ ।
मर्जरपछि राष्ट्रियस्तरको भएर काठमाडौंमा केन्द्रीय कार्यालय ल्याएको १ वर्ष अर्थात् २०७२ असार मसान्तबाट २०८२ असार मसान्तमा आउँदा बैंकले सबै सूचकमा उल्लेख्य प्रगति गरेको छ । मर्जर हुँदा ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले मर्जरलगत्तै २५ प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । २०७२ असार मसान्तमा ८८ करोड ९४ लाख ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेकोमा २०८२ असारमा आउँदा ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७२० रुपैयाँ पुगेको छ ।
बैंकले क्षेत्रीयस्तरको कसमस डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने बाहेक बोनस सेयर र हकप्रद सेयर मार्फत नै उक्त पुँजी पुर्याएको हो । २०७२ असारमा १४ जिल्लाको २७ शाखाबाट ८ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी बैंकले ६ अर्ब ४४ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । २०८२ असारमा आउँदा बैंकको उपस्थिति ४६ जिल्लाको ८२ स्थानीय तहमा पुगेको छ । कुल १०९ वटा शाखा कार्यालय पुग्दा बैंकको कुल निक्षेप ५४ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने कर्जा ४३ अर्ब १ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप र कर्जा मात्रै बढेको छैन । निक्षेपकर्ता र बैंकबाट ऋण लिने ऋणीको संख्या पनि सोही अनुपातमा बढेको छ । २०७२ असारमा १ लाख ३८ हजार ३५१ रहेको निक्षेप खाता २०८२ असारमा ५ लाख १९ हजार ७०१ पुगेको छ । त्यस्तै २०७२ असारमा ११ हजार ७४२ ऋण खाताबाट १० हजार ७२९ ऋणीले कर्जा लिएका थिए । २०८२ असारमा आउँदा बैंकको ऋणी ग्राहकको संख्या १७ हजार ५७ पुगेको छ भने ऋण खाता २४ हजार १३८ पुगेको छ । नेटवर्क र बैंककको वासलताको आधारमा ऋण लिने ग्राहक भने बढ्न सकेका छैनन् ।
बैंकको निक्षेप कर्जा र कुल सम्पत्ति मात्रै नभएर खुद ब्याज अम्दानी र नाफा पनि उल्लेख्य बढाएको छ । बैंकको कुल सम्पत्ति ९ अर्ब १६ करोड ७५ लाख ५५ हजार रुपैयाँबाट बढेर ६३ अर्ब ४१ करोड ८० लाख ३३ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ४१ करोड ५८ लाख ४१ लाख रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड ९ लाख ३ हजार रुपैयाँ र खुद नाफा १७ करोड ८० लाख ३१ हजारबाट बढेर ५३ करोड ७० लाख ९२ हजार रुपैयाँ पुगेको हो ।
हाल बैंकले ८६४ जनालाई रोजगारी दिएकोे छ । २०७२ असारमा बैंकमा कार्यरत कर्मचारीको संख्या २५५ थियो ।
बैंकले पछिल्ला वर्षहरुमा अझ धेरै र सुदृढ रुपमा बैंकिङ सेवालाई छिटो, छरितो र ग्राहकमुखी बनाउन विशिष्टीकृत सेवा प्रदान गरिरहेको छ । कर्जा प्रवाह, स्विकृति र कागजात व्यवस्थापन प्रक्रियालाई छिटो, छरितो, सहज, गुणस्तर कायम गर्न केन्द्रीय नियन्त्रण प्रणालीलाई व्यवस्थित बनाएको जनाएको छ ।
कृषि, जलविद्युत, पर्यटन तथा अन्य क्षेत्रका ठूला परियोजनाहरुमा साझेदारीका रुपमा लगानी विस्तार गरिरहेको छ । बैंकले स्थायी प्रकृतिका न्युत लागतका निक्षेपहरुमा जोड दिँदै आफ्नो बैंकिङ व्यवसायलाई सन्तुलित बनाउन सफल भएको छ । कोभिड १९ पछिको संयमित अवस्थामा ऋणीहरुको हितलाई ध्यानमा राख्दै बैंकले सहिष्णु बैंकिङ कारोबारलाई प्राथमिकता दिँदै आएको छ ।
बैंकले मर्जरअघि र मर्जरपछि पनि अन्य बैंकहरुको तुलनामा राम्रै लाभांश दिँदै आएको छ । बैंकले १० वर्षयता हरेक वर्ष लाभांश दिँदै आएको छ । बैंकले नगदभन्दा पनि बोनस सेयरलाई नै बढी प्राथमिकता दिएको देखिन्छ । ३ करोड रुपैयाँ चुक्ता पुँजीसहित स्थापना भएको बैंकको अहिलेको चुक्ता पुँजी साढे ३ अर्ब रुपैयाँभन्दा माथि पुग्दै गर्दा क्षेत्रीयस्तरको ३ वटा बैंक एक आपसमा गाभिए । त्यस्तै २ पटक हकप्रद सेयर जारी गरेको थियो भने त्यसभन्दा बाहेक बोनस सेयरमार्फत् नै बैंकले पुँजी बढाएको हो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































