जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • उच्च प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्दै एशियन लाइफ

उच्च प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्दै एशियन लाइफ

नेपाली बीमा बजारमा विगत करिब दुई दशकदेखि निरन्तर आफ्नो अस्तित्व मजबुत बनाउँदै आएको एशियन लाइफ इन्स्योरेन्स पछिल्ला वर्षहरूमा उत्कृष्ट क्षेत्रमा लगानी बढाउँदै अगाडि बढेको छ । २०६४ फागुन १५ गते स्थापना भएको कम्पनीले जीवन बीमा क्षेत्रमा स्थायित्व, सेवा विस्तार र आर्थिक मजबुतीलाई मुख्य आधार मानेर काम गर्दै आएको छ । देशभर विस्तारित आफ्नो संरचना, कर्पोरेट सुशासन र बढ्दो लगानी क्षमताका कारण एशियन लाइफ हाल बीमा उद्योगमा महत्वपूर्ण र विश्वसनीय संस्थाका रूपमा स्थापित हुन सफल भएको छ ।

स्थापना कालदेखि नै सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले स्थानीयदेखि केन्द्रीय तहसम्म ५० शाखा र ८२ उपशाखाका माध्यमबाट बीमा सेवा पु-याइरहेको छ । कतिपय ग्रामीण तथा अर्धशहरी क्षेत्रमा अझै बीमा सेवाको पहुँच सीमित रहेको अवस्थामा एशियनले आफ्नो शाखा नेटवर्कलाई क्रमशः विस्तार गरी जीवन बीमा सेवामा सर्वसाधारणको पहुँच वृद्धिमा सहयोग पु-याएको छ । यही विस्तारित संरचनाबाट कम्पनीले जनस्तरमा बीमाका सम्भावित आवश्यकता, जोखिमप्रतिको तयारी र आर्थिक सुरक्षाबारे ग्राहकलाई निरन्तर जागरूक गराउँदै आएको छ ।

एशियन लाइफसँग करिब २३ हजार ५६२ जना व्यक्तिगत एजेन्ट तथा आठ जना कर्पोरेट एजेन्ट क्रियाशील छन्, जसले कम्पनीको बीमा व्यवसाय विस्तारमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका छन् । देशका अधिकांश जिल्लामा एजेन्टहरूको उपस्थिति पुगेकाले बीमा बिक्री मात्र नभई दाबी भुक्तानीका प्रक्रिया तथा ग्राहक सेवामा सहजता आएको कम्पनीको अनुभव छ ।

सेवा प्रसारसँगै कम्पनीको लगानी दायरा पनि निरन्तर विस्तार हुँदै गएको देखिन्छ । बीमा प्राधिकरणमा पेश भएको तथ्याङ्कका अनुसार एशियन लाइफ इन्स्योरेन्सले हालसम्म विभिन्न क्षेत्रमा ४६ अर्ब ६१ करोड ४९ लाख ४ हजार रुपैयाँ लगानी गरेको छ । जीवन बीमा कम्पनीहरूको लगानी संरचना सामान्यतया दीर्घकालीन सुरक्षात्मक क्षेत्रतर्फ केन्द्रित रहने भए पनि एशियनले पछिल्ला वर्षमा प्राथमिक र उच्च उत्पादकशील क्षेत्रतर्फ पनि लगानी विस्तार गर्दै आएको छ । यसले कम्पनीको वित्तीय क्षमतासँगै सम्पूर्ण बीमा उद्योगको लगानी प्रवाहलाई पनि मजबुती प्रदान गरेको देखिन्छ ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिने बचतपत्र वा ऋणपत्रहरू सुरक्षित लगानीका रूपमा पहिचान गरिन्छन् । यी क्षेत्रलाई प्राथमिकता दिँदै एशियन लाइफले ६२ करोड ५० लाख रुपैयाँ सरकारी कागजातहरूमा लगानी गरेको छ ।

त्यस्तै, क वर्गका बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप कम्पनीको प्रमुख सुरक्षित लगानी क्षेत्रका रूपमा रहेको छ । कम्पनीले क वर्गका बैंकमा २७ अर्ब २० करोड ४ लाख रुपैयाँ मुद्दती निक्षेप राखेको छ, जसले कम्पनीको ब्याज आम्दानीलाई स्थिर तथा विश्वसनीय बनाएको छ । क वर्गका संस्थाहरू आफूमा उच्च पूँजीगत आधार र नियामकीय कडाइका कारण जीवन बीमा कम्पनीहरूको प्रमुख लगानी गन्तव्य मानिन्छन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ख वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा एशियन लाइफले २ अर्ब १३ करोड रुपैयाँ मुद्दती निक्षेप राखेको छ । त्यस्तै, ग वर्गका वित्तीय संस्थाहरूमा कम्पनीको २० करोड ५० लाख रुपैयाँ लगानी रहेको छ । यी लगानीले वित्तीय क्षेत्रका विभिन्न तहमा पूँजी वितरणमा योगदान पु-याउने मात्र नभई स्थानीय अर्थतन्त्रमा चलायमानता बढाउन पनि सहयोग पु-याएको छ ।

सूचीकृत पब्लिक कम्पनीहरूको शेयर तथा ऋणपत्र बीमा कम्पनीहरूको अर्को महत्त्वपूर्ण लगानी क्षेत्र हो । एशियन लाइफले सूचीकृत कम्पनीका साधारण शेयरमा ८६ करोड ४३ लाख ६७ हजार रुपैयाँ लगानी गरेको छ । पूँजी बजारमा उतारचढाव यथावत रहेको अवस्थामा दीर्घकालीन दृष्टिकोणसहित गरिएको यस्तो लगानीले कम्पनीको पोर्टफोलियोमा विविधता ल्याएको देखिन्छ । त्यस्तै, सूचीकृत पब्लिक कम्पनीका बन्ड, डिबेन्चर तथा ऋणपत्रमा कम्पनीले ८ अर्ब ९ करोड ३५ लाख २९ हजार रुपैयाँ लगानी गरेको छ ।

एशियन लाइफले पछिल्लो समय विकास, पूर्वाधार तथा नविकरणीय ऊर्जा क्षेत्रमा पनि उल्लेखनीय लगानी विस्तार गरेको छ । कृषि उत्पादन तथा वितरण, शीत भण्डारण, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जा लगायत नविकरणीय ऊर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कम्पनीले ३ अर्ब ५८ करोड २ लाख १६ हजार रुपैयाँ लगानी गरेको छ । यी क्षेत्रहरू राष्ट्रिय आर्थिक विकासका प्रमुख आधार भएकाले बीमा कम्पनीको दीर्घकालीन लगानीले देशको समग्र विकासमा टेवा पु-याएको देखिन्छ ।

यस्तै, नागरिक लगानी कोष तथा म्युचुअल फण्डका योजनामा कम्पनीले ४ करोड २ लाख रुपैयाँ लगानी गरी पोर्टफोलियोलाई अझ विविध बनाएको छ । अन्य संस्थापक शेयरमा ३ अर्ब ७९ करोड ४९ लाख १२ हजार रुपैयाँ र अन्य विभिन्न क्षेत्रतर्फ ८ करोड १२ लाख ८० हजार रुपैयाँ लगानी रहेको छ । संरचना हेर्दा एशियन लाइफले सुरक्षित, उच्च प्रतिफलयुक्त तथा विकासोन्मुख क्षेत्रतर्फ सन्तुलित ढंगले लगानी गरी आफ्नो वित्तीय स्थायित्वलाई मजबुत बनाइरहेको छ।

320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका