जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • कांग्रेसका निवर्तमान सांसद कार्कीका कारण बैंकको ५० करोड संकटमा

कांग्रेसका निवर्तमान सांसद कार्कीका कारण बैंकको ५० करोड संकटमा

नेपाली कांग्रेसका निवर्तमान सांसद विष्णुकुमार कार्कीले बैंक ऋण नतिरेको तीन वर्षभन्दा बढी भइसक्यो। क्रसर तथा इँटा उद्योगमा लगानी गरेका उनले लामो समय ऋण नतिरेपछि बैंकले कर्जा सूचना केन्द्रको कालोसूचीमै राखेको पनि दुई वर्ष भइसकेको छ। तर, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले यसपालि पनि कार्कीको नाम सिफारिस गरेको छ।

बारम्बार ताकेता गर्दासमेत कार्की र उनको कम्पनीले कुमारी बैंकको ५० करोड रुपैयाँभन्दा बढी ऋण तिरेका छैनन्। बैंकले ऋण उठाउनका लागि धितो लिलाम गर्ने प्रकृया थाल्दा कार्कीले उल्टै अवरोध गर्दै आएका छन्।

कार्कीले इँटालगायत उद्योगका लागि कुमारी बैंकबाट ऋण लिएका थिए। कार्कीले नवलपरासकीको पञ्चनगरमा रहेको मनोकामना इँटा उद्योग, रुपन्देहीको पर्रोरास्थित न्यू मनकामना इँटा कारखाना प्रालि, बुटवलमा रहेको रोडजिट अटो मार्ट प्रालिलगायत कम्पनीका नाममा ऋण चलाएका थिए।

‘ऋण तिर्ने नियत हो भने भएकै धितोबाट पनि उठ्छ,’ बैंक स्रोतले भन्यो, ‘तर, हामीले जति प्रयत्न गर्दासमेत उठाउन सकिरहेका छैनौं।’

ऋण उठाउने प्रयोजनका लागि बैंकले सम्पति खरिद गर्ने ग्राहकसमेत खोजिदिएको थियो। ती ग्राहकलाई कार्की र उनका नातेदारले घेरेर आक्रमण गर्ने धम्की दिए।

सहमतिमै बिक्री गर्ने भनेर पनि धेरै पटक प्रयास भइसकेको छ। तर कार्की न बैंकको सम्पर्कमा आउँछन्, न त लिलामी प्रक्रियामा सहयोग गरेका छन्।

कार्कीले आफू कांग्रेस नेता भएको भन्दै राजनीतिक शक्तिको आडमा उल्टै दबाब दिने काम गरिरहेका छन्। ‘हामीले अलिकति सम्पति बेचेर बैंकको ब्याज मात्रै तिरेर ऋण नियमित गराउने प्रस्तावसमेत गरेका थियौं,’ बैंक स्रोतले भन्यो, ‘तर, कार्की कुनै पनि प्रस्ताव सुन्न तयार देखिनु हुन्न।’

कार्कीले ‘बैंकले कसरी मेरो सम्पति खाँदो रहेछ हेरौंला’ भनेर धम्की दिने गरेका छन्। कार्कीले राजनीतिक शक्ति देखाएका कारण बैंकलाई प्रशासन र स्थानीय सरकारबाट पनि सहयोग प्राप्त भएको छैन।

कार्की २०८० पुस २० गतेदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा छन्। त्यसपछि पनि उनका फर्म र कम्पनी कालोसूचीमा परि नै रहेका छन्। कार्कीले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबाट ऋण लिएका थिए। एनसीसी कुमारी बैंकमा मर्ज भइसकेको छ।

२०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका कार्की २०७४ को निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ मा प्रतिनिधि सभा सदस्यमा पराजित भएकामा २०७९ को चुनावमा निर्वाचित भएका थिए। उनले त्यतिखेर एमालेका तिलक महतलाई २ हजार २१ मतान्तरले हराएका थिए।

165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका