
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीको असन्तुष्ट पक्षबिच वार्ता सुरु भएको छ । रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा दुई पक्षबिच वार्ता सुरु भएको हो ।
उज्यालोका नेताहरू यसलाई पार्टी एकताको अन्तिम वार्ता भनेका छन् । केही बेरअघि सुरु भएको वार्तामा उज्यालो नेपालका तर्फबाट प्रा.डा. महेन्द्र लावती, पार्टीका प्रवक्ता राजु थापा, केन्द्रीय सदस्यद्वय जितराम लामा र रामेश्वर श्रेष्ठ रहेका छन् । त्यस्तै, रास्वपाबाट भने शिशिर खनालसहितको टोली सहभागी रहेका छ ।
आजको छलफलमा उज्यालो नेपालले पठाएका १४ जना समानुपातिक उम्मेदवार निर्वाचित हुने सुनिश्चितताको विषय, पार्टीमा उज्यालो नेपालबाट आएका व्यक्तिको प्रतिनिधित्व, संघीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र पहिचानको सम्बन्धमा रास्वपाको धारणा लगायत विषयमा छलफल हुने उज्यालोका एक नेताले बताए ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा उज्यालोका तर्फबाट १४ जना रहेका छन् । त्यसमध्ये रीमा विश्वकर्मा बाहेक सबैको नाम क्लस्टरको पछिल्लो सूचीमा छ । वार्तामा उनीहरूलाई सूचीको माथिल्लो नम्बरमा ल्याउनुपर्ने असन्तुष्ट पक्षधरको माग छ ।
रास्वपाले कुलमान घिसिङलाई पहिलो वरियताको उपसभापति बनाउने गरी सहमति गरे पनि अरू कसलाई के दिने भन्ने सम्बन्धमा कुनै निर्णय गरेको छैन, उज्यालोले भने पदाधिकारीमै अन्य २ जना हुनुपर्ने माग राखेको छ ।
आजको छलफलमा कुरा नमिले एकता हुन नदिने सो पक्षको रणनीति छ । उज्यालोको ५१ जना केन्द्रीय सदस्यमध्ये अहिले बहुमत सदस्य रास्वपासँग गरिएको सहमतिको विपक्षमा छन् । संरक्षक घिसिङ र अध्यक्ष अनुप उपाध्यायले सहमति गरे पनि एकताको लागि केन्द्रीय समितिको निर्णय चाहिने भएपछि रास्वपा छलफलमा बस्न तयार भएको हो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































