जोडिनुहोस
शनिबार, पुस २६, २०८२
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • आयल निगमको खुद नाफा साढे १३ अर्ब

आयल निगमको खुद नाफा साढे १३ अर्ब

नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा साढे १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं वार्षिकोत्सवमा खुद नाफाको तथ्यांक सार्वजनिक गरेका हुन् । कार्यक्रममा उनले निगमको अहिलेको व्यावसायिक उचाइको श्रेय स्वचालित मूल्य समायोजन र सुदृढ पूर्वाधार विकासलाई दिए ।

निगमले गत आव ३ खर्ब ६७ अर्ब रुपैयाँको कुल कारोबार गरेको थियो । उक्त अवधिमा १३ अर्ब ६७ करोड रुपैयाँ बराबर खुद नाफा आर्जन गर्न सफल भएको डा. भट्टले बताए । निगमले १ खर्ब २४ अर्ब रुपैयाँ बराबरराजस्व योगदान गरेको छ ।

कार्यकारी निर्देशक भट्टले २०७१ सालमा सुरु गरिएको ‘स्वचालित मूल्य प्रणाली’ नै निगम इतिहासमा सबैभन्दा महत्त्वपूर्ण कोशेढुंगा सावित भएको र यसैका कारण निगम आज आर्थिक रूपमा मजबुत बनेको उल्लेख गरे ।

निगमले पछिल्ला वर्षहरूमा पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि हासिल गरेको जनाएको छ । मोतिहारी–अमलेखगञ्ज ७२ किलोमिटर पेट्रोलियम पाइपलाइन र अमलेखगञ्जमा १७ हजार किलोलिटर क्षमताको भण्डारण गृह सञ्चालनमा आइसकेको छ ।

यसबाट ढुवानी खर्च बचत भई उपभोक्ताले प्रतिलिटर २ रुपैयाँ सस्तोमा इन्धन पाउन सम्भव भएको डा. भट्टको भनाइ छ । यसैगरी, पोखरामा ३ हजार ६ सय किलोलिटर क्षमताको हवाई इन्धन भण्डारण गृह निर्माण सम्पन्न भएको छ । ‘प्रविधितर्फ निगमले अमलेखगञ्ज, भैरहवा र थानकोट डिपोमा ‘फ्लो मिटर’ जडान गरेर तेल चोरी र चुहावट नियन्त्रणमा पारदर्शिता ल्याएको छ,’ उनले भने, ‘ईआरपी प्रणालीमार्फत व्यवसायीले मोबाइलबाटै तेल अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ, जसले मानवीय हस्तक्षेप घटाएको छ ।’

उनका अनुसार निगमले अब परम्परागत इन्धन व्यापारबाट माथि उठेर क्लिन इनर्जी र विविधीकरणतर्फ लाग्ने योजना बनाएको छ । यस अन्तर्गत पेट्रोलमा इथानोल मिसाउने सरकारको नीतिलाई यसै वर्षदेखि कार्यान्वयनमा लगिने छ भने काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा हरित हाइड्रोजनको व्यावसायीकरण गरी सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन लक्ष्यमा सघाउ पुर्‍‍याइने छ ।

पूर्वाधारतर्फ सिलिगुडी–चारआली र मोतिहारी–सर्लाही एलपीजी पाइपलाइन निर्माणका लागि भारतीय पक्षसँग छलफल अघि बढाइएको कार्यकारी निर्देशक भट्टले बताए ।

यस्तै सुरक्षा जोखिममा रहेका सिनामङ्गल, भैरहवा र धनगढीका डिपो स्थानान्तरण गरिने छ भने डिपो नभएको कर्णालीमा नयाँ डिपो निर्माण प्रक्रिया सुरु गरिएको छ ।

दुर्गमका ३७ स्थानमा नयाँ पेट्रोल पम्प खोलेर बोतलको महँगो इन्धन किन्नुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य लिएको निगमले संस्थालाई पब्लिक लिमिटेडमा लगेर सर्वसाधारणका लागि सेयर जारी गर्ने र ४ सय ५० किलोको ठूलो सिलिन्डर प्रचलनमा ल्याउने विषयमा समेत अध्ययन गरिरहेको पनि उनले जानकारी दिए ।

करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारीका भरमा देशभरि दैनिक ७५ लाख लिटर पेट्रोलियम पदार्थ र १ हजार ५ सय टन ग्यास वितरण गर्नु आफैंमा चुनौतीपूर्ण रहेको भन्दै डा. भट्टले कर्मचारीको लगनशीलताको प्रशंसा गरे । एक कर्मचारीले औसत २० हजार सेवाग्राहीलाई सेवा दिइरहेको उनले बताए ।

भट्टले इन्डियन आयल कर्पोरेसन, पेट्रोलियम व्यवसायी, ढुवानीकर्ता र प्रेस जगतको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा निगमलाई अझै प्रतिस्पर्धी, पारदर्शी र आधुनिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सचिवहरू डा. रामप्रसाद घिमिरे र मधुसुदन बुर्लाकोटी र लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी लगायत उपस्थिति थियो ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका