जोडिनुहोस
मङ्लबार, माघ ७, २०८२
मङ्लबार, माघ ७, २०८२
  • होमपेज
  • सर्लाही-४ बाट गगन थापाको उम्मेदवारी

सर्लाही-४ बाट गगन थापाको उम्मेदवारी

नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही-४ बाट उम्मेदवार बनेका छन्। गगन लगातार तीन पटक जितेको काठमाडौं-४ छोडेर यसपालि सर्लाही-४ पुगेका हुन्।

अघिल्लो निर्वाचनमा माओवादी र नेकपा एकीकृत समाजवादीसँग मिल्दा गगनले २१ हजार ३०४ मत पाएका थिए। त्यो निर्वाचनमा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत पाएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीले गगनलाई जिताउन उम्मेदवार उठाएको थिएन।

गगन अघिल्लो निर्वाचनमा नै सर्लाही-४ मा उम्मेदवार बन्ने तयारीमा रहेकामा अन्तिम समयमा रोकिएका थिए। यसपटक काठमाडौं-४ मा ढुक्क नदेखिएपछि गगन सर्लाही-४ पुगेका हुन्।

काठमाडौं-४ मा कांग्रेसले गगनका विश्वासपात्र सचिन तिमिल्सिनालाई उम्मेदवार बनाएको छ भने रास्वपाले पुकार बमलाई मैदानमा उतारेको छ। एमालेका तर्फबाट अन्तिम समयमा भट्टराई नै उम्मेदवार बनेका छन्।

गगनले अहिले रोजेको क्षेत्रलाई कांग्रेसको गढ मानिन्छ। यो क्षेत्रमा कांग्रेसबाट वीरेन्द्र सिंह टिकटका आकांक्षी थिए। उनी हाल मधेश प्रदेश सभा सदस्य छन्।

मधेशमा दुईपटक मन्त्री बनिसकेका वीरेन्द्रले राजीनामा दिएर प्रतिनिधि सभामा आउन चाहेका थिए। यद्यपि गगनले मधेशको मुख्यमन्त्री बनाउन सघाउने वाचा दिएर आफू उम्मेदवार बनेको वीरेन्द्र निकट नेताको दाबी छ।

अघिल्लो निर्वाचनमा भने सर्लाही-४ मा कांग्रेसका बागी उम्‍मेदवार डा. अमरेशकुमार सिंह निर्वाचित भएका थिए। सिंहले २० हजार १७ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका नगेन्द्रकुमार रायले १८ हजार २५२ मत पाएका थिए।

सर्लाही-४ मा २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि अमरेश नै निर्वाचित भएका थिए। त्यतिखेर उनले कांग्रेसबाट २९ हजार ६ सय मत ल्याएका थिए। निकटतम प्रतिद्वन्द्वी राजपाका राकेश मिश्रले २८ हजार १ सय ३६ मत पाएका थिए।

अघिल्लो निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि तत्कालीन सभापति शेरबहादुर देउवा र डा आरजु राणाविरुद्ध छेडखानीमा उत्रेका अमरेशले त्यतिबेला एकाएक आफ्नो पक्षमा माहोल बनाएका थिए।

अमरेश यसपटक रास्वपाबाट उम्मेदवार बनेका छन्।

गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जितेको र अहिले रास्वपाका तर्फबाट मैदानमा उत्रिएकाले अमरेशलाई कांग्रेसकै नेता कार्यकर्ताले बलियो उम्मेदवारका रुपमा हेरेका छन्। त्यसैले गगन र अमरेशबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।

गगन नै किन?

कांग्रेसका सर्लाही जिल्ला कार्यवाहक सभापति डा सरोज यादवले गत निर्वाचनको नतिजा पार्टीको पक्षमा नआए पनि कांग्रेसको गढ भएको र युवाहरुले खोजेका कारण सर्लाही-४ मा गगनलाई उम्मेदवार बनाएको बताए।

‘सर्लाही-४ कांग्रेसको गढ हो। अमरेशजी पनि कांग्रेसमा टिकट नपाएर स्वतन्त्र हुनुभएको हो। गत निर्वाचनमा हामीलाई माओवादी केन्द्रबाट पनि धोका भएको थियो,’ यादवले भने, ‘यसपालि कुनै दलले पनि गठबन्धन नगरेका कारण हामीले डराउनुपर्ने कारण छैन। अर्कातिर पार्टी सभापति गगन थापाप्रति युवाहरुको क्रेज छ।’

अघिल्लोपटक कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरेको थियो।

मधेशका ८ जिल्लामा प्रत्यक्षतर्फ ३२ सिट छ। सिटका साथै मतदाताको संख्या धेरै रहेका कारण मधेशमा सबैजसो दलको नजर छ। मधेशवादी दल छिन्नभिन्न रहेको अवस्थामा बालेन साहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको रास्वपाले सोमबार जनकपुरमा शक्ति प्रदर्शन गरिसकेो छ। रास्वपाले बालेनलाई मधेशको आइकनका रुपमा अगाडि सारेको छ।

बालेनका कारण भोट प्रभावित हुने भय कांग्रेसमा छ। रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा बालेनलाई अगाडि सारेपछि भोट घण्टीतिर जाने देखेर कांग्रेस नेताहरुले युवाहरुलाई आकर्षित गर्नका लागि गगनलाई सर्लाही-४ मा लगेका हुन्।

यादव पनि रास्वपाले बालेनलाई अगाडि सारेको अवस्थामा गगनलाई मधेशमा ल्याउन कार्यकर्ताले दबाब दिएको स्वीकार गर्छन्। ‘गगन दाइजस्तो भिजनरी व्यक्ति पीएमको उम्मेदवार पनि हो,’ कार्यबाहक सभापति यादव भन्छन्, ‘रास्वपाले बालेनलाई उतारेको छ आइकनका रुपमा। हामीले पनि गगनलाई ल्याएका छौं।’

गगनलाई सर्लाही-४ मा उम्मेदवार बनाएका कारण समग्र मधेशमै पार्टीको भोट बढ्ने कांग्रेसका नेताहरुको विश्वास छ। त्यो विश्वास कति पूरा हुन्छ? फागुन २१ को मतदानपछि देखिनेछ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?