
एभरेष्ट बैंकको नाफा बढेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त)सम्म आइपुग्दा बैंकको नाफा २.०४ प्रतिशतले बढेर २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ पुगेको छ।
पोहोर सोही अवधिमा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा बढेको हो। ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशत बढेर ४ अर्ब ५७ करोड पुगेको छ।
फि तथा कमिसन आम्दानी २०.३८ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकको कुल संचालन आम्दानी ९.७३ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको संचालन मुनाफा २.०६ प्रतिशत बढेको छ।
बैंकको प्रति सेयर आम्दानी भने घटेको छ। बैंकको यस्तो आम्दानी १ रुपैयाँ २० पैसा घटेर ३० रुपैयाँ ८६ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको प्रति सेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.३९ गुणा छ।
६ महिनामा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ छ। पोहोर ६ महिनामा ०.६६ प्रतिशत रहेको खराब कर्जा ०.६८ प्रतिशत पुगेको छ।
१३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































