आर्थिक विशेष
अत्याधुनिक प्रविधि प्रयोग गरी वित्तीय अपराध गर्ने प्रवृत्ति बढ्दै छ : गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत वित्तीय अपराध गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको बताएका छन्। यस्तो प्रवृत्तिलाई समयमै नियन्त्रण गर्न वित्तीय सुपरिवेक्षण संयन्त्रलाई थप स्रोतसाधन सम्पन्न, सुदृढ र प्रभावकारी बनाउन आवश्यक रहेको उनले जोड दिए।
राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण रोकथाम तथा सुपरिवेक्षण विभागद्वारा आयोजित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादलाई वित्तीय सहयोगसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै गभर्नर पौडेलले वित्तीय अपराध नियन्त्रणका लागि प्रतिक्रियात्मक होइन, पूर्वतयारीमा आधारित रणनीति आवश्यक रहेको बताए। ‘भोलि समस्या आयो भने गरौँला भन्ने सोचले हुँदैन, सम्भावित जोखिमलाई ध्यानमा राख्दै आजै तयारी गर्नुपर्छ,’ उनले भने।
गभर्नर पौडेलले नेपाल फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटीएफ) को ‘ग्रे लिष्ट’ मा पर्नु चुनौतीपूर्ण भए पनि यसलाई मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। कानुनी छिद्रको दुरुपयोग गरी वित्तीय अपचलन र अपराध गर्ने क्रम बढ्दै गएको उल्लेख गर्दै गभर्नर पौडेलले यसप्रति सरोकारवाला सबै निकाय सचेत हुनुपर्नेमा जोड दिए।
यस्ता अपराधका कारण स्वास्थ्य र शिक्षाजस्ता महत्वपूर्ण क्षेत्रमा लगानी गर्नुपर्ने स्रोत रोकथाममा खर्चिनु पर्ने अवस्था सिर्जना हुने र यसले सामाजिक तथा वर्गीय विभेदलाई समेत गहिरो बनाउने उनले बताए। बिहीबारसम्म सञ्चालन हुने उक्त सम्मेलनमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र मङ्गोलियाका केन्द्रीय बैंकका उच्च अधिकारीहरूको सहभागिता रहेको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































