
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर १.५१ रुपैयाँ र डिजेलमा ५.०२ रुपैयाँ बढेर आएको भए तापनि निगमले उपभोक्ताको हितलाई ध्यानमा राखी सीमित मूल्य वृद्धि गरेको हो।
निगम सञ्चालक समितिको निर्णयअनुसार सोमबार (फागुन ०४ गते) बिहान ००:०१ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ।
नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा अब पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य १४२ रुपैयाँ कायम भएको छ।
त्यसैगरी, सुर्खेत र दाङ (दोस्रो वर्ग) मा पेट्रोल १५६ रुपैयाँ र डिजेल १४१ रुपैयाँ पुगेको छ भने तराईका क्षेत्रहरू (पहिलो वर्ग) मा पेट्रोल १४५.५० रुपैयाँ र डिजेल १३१.५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































