
नेपाल राष्ट्र बैंकको नयाँ तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपाल भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा उल्लेख्य वृद्धि भएको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार समीक्षा अवधिमा रेमिट्यान्स ४१.२ प्रतिशतले वृद्धि भई कुल १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशत र त्यसको अघिल्लो वर्ष १०.६ प्रतिशतले मात्र बढेको थियो। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ विप्रेषण मुलुक भित्रिएको छ।
रेमिट्यान्समा आएको तीव्र सुधारसँगै देशको बाह्य क्षेत्र सूचकहरू निकै मजबुत देखिएका छन्। समीक्षा अवधि अर्थात् चालु आर्थिक वर्षको १० महिनामा मुलुकको चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँ बचतमा रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँ बचतको तुलनामा झन्डै तीन गुणा बढी हो। यसैगरी देश भित्रिने र बाहिरिने रकमको अन्तर देखाउने शोधनान्तर स्थिति वैशाख मसान्तसम्म ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ बचतमा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले मात्र बचतमा रहेको थियो।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































